देश/प्रदेश
पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत, असार २६-
वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा वनमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका पाँचवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् ।
डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा रहेका पाँच सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । डिभिजन वन कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका पाँच सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न गरिएको कार्यालय प्रमुख हेमलाल न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिपोखरी निर्माणका लागि कार्यालयले रु एक लाख रुपैया सहयोग गरको छ भने स्थानीय उपभोक्ताहरुले श्रमदान समेत गरेको उहाँले बताउनुभयो । जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिका–५ मा रहेको गिद्धेश्वर सामुदायिक वन, दक्षिणी भेगमा रहेको महाशिला गाउँपालिका–५ स्थित भोर्लेडाँडा भिरलीचौर सामुदायिक वन, मोदी गाउँपालिका–४ को जस्मे केदारे सामुदायिक वन, पैयुँ गाउँपालिका–७ स्थित दाङसिङ पाखो सामुदायिक वन र कुश्मा नगरपालिका–१ पाङको धैरेनी कुनाचौर सामुदायिक वनमा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ ।
गिद्धेश्वर सामुदायिक वन उपभोक्ता समिति जलजलाका अध्यक्ष लालबहादुर पौडेलले पोखरीमा रहेको पानी जङ्गलका जीवजन्तु र चराचुरुङ्गीलाई पिउनका साथै जङ्गलमुनि रहेको खेतबारीमा सिँचाइ गर्न उपयोगी भएको जानकारी दिनुभयो ।
अध्यक्ष पौडेलका अनुसार स्थानीयबासीको श्रमदान र कार्यालयको दिएको रु एक लाख रकमबाट स्थानीय गाउँकै माटो र ढुङ्गाको प्रयोग गरी पोखरी निर्माण गरिएको हो । पोखरीको पानी जङ्गली जनावर, चरी बाघ, मृग, कालिज, खरायोलगायतका जङ्गली जनावरलाई पानी पिउन सहज हुने उहाँको भनाइ छ ।
त्यसैगरी वन क्षेत्रमा वर्षायामको पानी सङ्कलन गरी सुक्खा मौसममा वन्यजन्तुलाई पानी उपलब्ध गराउने, वनभित्रको वातावरणीय सन्तुलन कायम राख्ने तथा डढेलो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षाका साथ पोखरी निर्माण गरिएको हो ।
सहायक वन अधिकृत भुवन थापाका अनुसार पोखरी निर्माणसँगै वन संरक्षणमा स्थानीय समुदायको सहभागिता अझ प्रभावकारी हुने विश्वास गरिएको छ । वन क्षेत्रको जलस्रोत संरक्षण, हरियाली प्रवद्र्धन तथा वन्यजन्तुको बासस्थान संरक्षणमा पनि पोखरी निर्माणले सकारात्मक योगदान पुराउने विश्वास गरिएको छ ।पोखरी निर्माणपछि वन्यजन्तुलाई वर्षभरि पानीको सहज पहुँच हुने र वन क्षेत्रको पर्यावरणीय संरक्षण थप टेवा पुग्ने डिभिजन वन कार्यालयले जनाएको छ । यसअघि गत आर्थिक वर्षमा पनि जिल्लाका दुई बनमा पोखरी निर्माण गरिएको थियो । रासस



























