देश/प्रदेश

काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

Banner

काठमाडौँ, असार २६ –

काठमाडौँ महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको उक्त अधिवेशन आजको छैटौँ बैठकसँगै सकिएको हो ।

बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेस भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो । सो क्रममा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानुनमा समसामयिक संशोधनसम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेस गर्नुभएको थियो ।

पेस गरिएका विषयमाथि नगरसभा सदस्यहरू विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले धारणा राख्नुभएको थियो ।

बैठकमा व्यक्त धारणा, लिखित संशोधन प्रस्तावलाई समेटेर सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सभामा निर्णयार्थ पेस गर्नुभएको थियो । ती विधेयकसँगै सभाको पाँचौँ बैठकमा पेस भएका न्यायिक समिति, लेखा समिति र सुशासन समितिको वार्षिक प्रतिवेदनमाथि सभाका सदस्यले दिनुभएको सुझाव समेटेर निर्णयका लागि पेस भएका थिए ।

पेस भएका प्रस्ताव सर्वसम्मत पारित भएपछि सभाध्यक्ष डङ्गोलले नगरसभाको बैठक सम्पन्न भएको घोषणा गर्नुभएको थियो । उहाँले स्वीकृत कार्यक्रमको सफल कार्यान्वयनबाट मतदाता, महानगरवासी र राजधानी सहर आश्रितको हित, उपयोग र सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।

बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आर्थिक वर्ष २०८३र८४ का लागि ११ क्षेत्रका १०१ बुँदामा नीति प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्ताव यही असार १ गतेको अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो ।

यस्तै, असार ४ गतेको तेस्रो बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले आव २०८३र८४ का लागि काठमाडौँ महानगरपालिकाको रु २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार बजेट प्रस्ताव पेस गर्नुभएको थियो । सोही बैठकमा उहाँले आव २०८३र८४ का लागि आर्थिक विधेयक तथा विनियोजन विधेयक पेस गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>