देश/प्रदेश
गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौँ, असार २६ –
सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ ।
हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (AIIMS) लैजाने तयारी गरिएको छ ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुग्नुभएको थियो । उहाँहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको थियो ।
चिकित्सकसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उहाँहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढाइएको हो ।रासस



























