देश/प्रदेश
चन्दननाथमा ‘फायर हाइड्रेन्ट’ जडान

जुम्ला, असार २५-
जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिएको छ । आगलागीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाभित्रको वडा नं २ र ३ मा ती उपकरण जडान गरिएको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सुपर परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले जानकारी दिनुभयो ।
विपद् जोखिम न्यूनीकरण गर्न सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्द्धन गर्नेका लागि र बस्तीमा आगो लागे तत्काल पानी उपलब्ध गराई आगो नियन्त्रण गर्न सहज बनाउने लक्ष्यसहित फायर हाइड्रेन्ट जडान गरिएको जनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटीले समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत नगरपालिकाका घना बस्ती तथा आगलागीको उच्च जोखिम रहेका स्थानलाई प्राथमिकतामा राखेर परियोजनाले काम गरिएको छ ।
आपत्कालीन अवस्थामा दमकल, सुरक्षाकर्मी तथा स्थानीय स्वयंसेवकले नजिकैबाट पानी प्रयोग गरी आगलागी नियन्त्रण गर्नेका लागि उक्त वडाका बस्तीमा फायर हाइड्रेन्ट जडान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाका सुपर परियोजना संयोजक सुवेदीले बताउनुभयो ।
फायर हाइड्रेन्ट सडक किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकाले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति हुने चन्दनाथ नगरपालिका नगर प्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो ।
हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने अपेक्षा राखिएको स्थानीयवासीको भनाइ छ । रासस



























