देश/प्रदेश

असार नसकिँदै रित्तियो आँप

Banner

महोत्तरी, असार २४ –

मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो । तर, असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन् ।

महोत्तरीमा यो मौसम फल पाक्ने सिजन हो । जात अनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिदै रित्तिएका छन् । आँपलाई फलको राजा मानिन्छ । जेठ मध्यदेखि १५ असारसम्म बम्बई, असार १५ देखि मसान्तसम्म मालदह र कृष्णभोग, त्यसपछि साउन लाग्नासाथ कलकितया, आम्रपाली, अभिया, मल्लिका, जर्दा, हर्दिया र गुलावखाससहितका आँपको मौसम सुरु हुन्छ । तर यसपालि पाक्ने मध्य बेलामै आँपक बोट खाली भइसकेको भङ्गाहा–४ रामनगरका किसान हरिदेव साह बताउनुहुन्छ ।

“हेर्नुहोस् न ! बगैँचामा पछि पाक्ने आँप पनि थिए, तर असार–१५ ताका नै बगैचा रित्तोभयो” । साह भन्नुहुन्छ, “बगैँचा ठेकेदारलाई बेचियो, सबै आँप टिपेर लगे” । साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दियासहितका आँपका बोट पनि अहिले असार मसान्त अघि नै सकिएका छन् ।

यसपालि असार लागेदेखि मध्यसम्म दिनभरि अचाक्ली गर्मी र रातभरि वर्षा हुने क्रमले आँपका फल सड्दै झर्ने क्रम बढेपछि समयअघि नै बेच्नुपरेको अर्का किसान गङ्गाराम महतोले बताउनुभयो । भदौमा पाक्ने अभिया र भदैयाँसहितका आँपका बोट पनि असार नसकिँदै रित्तिएका छन् ।

पछि पाक्ने आँप पहिले नै बिक्री गर्दा त्यसलाई पकाउन कार्बाइडको प्रयोग गर्नुपर्छ । कार्बाइड प्रयोग भएको आँप एक त स्वादिलो हुँदैन, भने अर्का स्वास्थ्यका लागि हानिकारक हुन्छ भने चाँडै विबmी गर्दा किसानले उचित मूल्य नपाएका गुनासो सुनिन्छ ।

बोटमै पाकेको आँप स्वादिष्ट र स्वस्थ्यकर हुन्छ । तर, किसानको धानखेतीको समय सुरु भएकाले चाँडै अन्य काम सक्नका लागि आँप पाक्ने समय नहुँदै आँप बेचेर रोपाइँमा किसान लागेका बर्दिबास–१२ बिजलपुराका किसान विश्वनाथ सिंह बताउनुहुन्छ ।

महोत्तरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आँपको बगैँचा फैलिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । यहाँका आँप किसान नजिकै आँप प्रशोधन उद्योग र चिस्यानघर नहुँदा हतारमै आँप बिक्री गर्न बाध्य छन् । ग्रामीण किसानका यो समस्या यहाँको स्थानीय सरकारले नसुनेको गौशाला–१० बटुवाका ७० वर्षीय किसान लक्ष्मीप्रसाद सिंह बताउनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>