देश/प्रदेश

बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने

Banner

सिद्धार्थनगर (भैरहवा), असार २३ –

अन्तरराष्ट्रिय सीमानाका बेलहियाको ट्राफिक व्यवस्थापन, यात्रु तथा पर्यटकको आवागमन, सामान ओसारपसारसहित सुरक्षा प्रबन्ध सुनिश्चित गर्न पहल भएको छ ।

भारतीय मालवाहक सवारीसाधन जथाभावी रूपमा सडकमै पार्किङ गर्ने र भारतीय नम्बर प्लेटका ट्याक्सी नेपालतर्फ प्रवेश गरी निर्वाध रूपमा यात्रु ओसारपसार गर्ने परिस्थिति बढ्दै जाँदा बेलहियानाका अस्तव्यस्त बनेको भन्ने गुनासो आएसँगै व्यवस्थापन प्रक्रिया सुरु भएको हो ।

सो सन्दर्भमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रसाद अर्यालले स्थानीय जनता र व्यावसायी तथा सम्बद्ध सरकारी निकायलगायत सरोकारवाला पक्षबाट प्राप्त रायसुझावसहित सीमापारिका भारतीय अधिकारीहरूको समेत सहयोग र सहकार्यमा सीमानाकास्थित बेलहियाको समस्या समाधान गरिने बताउनुभयो ।

उहाँले सर्वपक्षीय समितिबाट प्राप्त सुझावका आधारमा बेलहियाको समस्या समाधान गर्ने पक्षमा प्रशासन रहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, “स्थानीय प्रहरी प्रशासनले एक महिनाभित्र भारतीय सीमा सुरक्षा बल ९एसएसबी०सँग छलफल गरी समाधानको पहल गर्नेछ । त्यसबाट सम्भव नभए प्रमुख जिल्ला अधिकारीका हैसियतले भारतीय समकक्षीसँग छलफल गरी सीमानाका बेलहियाको समस्या समाधान गरिने छ, जनताको मागबमोजिम व्यवस्थापन गरिनेछ ।”

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले एकीकृत जाँच चौकी ९आइसिपी० निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै सो सञ्चालनमा आएपछि पार्किङ व्यवस्थापन सहज भई हाल देखिएका अधिकांश समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले स्थानीय सुरक्षा संयन्त्रलाई अझ प्रवाभकारी ढङ्गबाट परिचालन गरी ट्राफिक तथा पार्किङ व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी, सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले भारततर्फ जारी सडक विस्तारको काम पूरा हुनासाथ ट्राफिक व्यवस्थापनसँग सम्बन्धित समस्या न्यूनीकरण हुने बताउँदै जथाभावी गाडी रोक्न निषेध गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय प्रहरीका अनुसार पछिल्ला दिनमा रुपन्देहीको वेलहिया सीमानाका हुँदै दैनिक पाँच हजार व्यक्ति, ३०० देखि ५०० वटा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधन, २५–३० वटा यात्रुवाहक बस र १००–१५० मालवाहक ट्रकको आवातजावत हुने गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>