देश/प्रदेश
ठमेलमा बढे भारतीय पर्यटक

काठमाडौँ, असार २३-
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । पहिले पहिले प्रायः अरु देशका पर्यटकहरुको केन्द्र रहने गरेको ठमेलमा अहिले भने भारतीय पर्यटकको बाहुल्यता हुने गरेको छ ।
प्रकृति, संस्कृति र साहसिक खेलका लागि उत्कृष्ट गन्तव्यका रुपमा रहेको नेपाल घुम्नका लागि पछिल्लो समय भारतीय पर्यटकहरु आउने गरेका छन् । केही समययतादेखि काठमाडौँको ठमेल क्षेत्रमा साँझपख भारतीय पर्यटकको विशेष चहलपहल देखिन थालेको यहाँका होटल तथा अन्य पर्यटन व्यवसायीहरु बताउँछन् ।
विशेष गरी काठमाडौँमा अधिकांश भारतीय पर्यटकहरू रहने भनेको पशुपतिनाथ क्षेत्रमा हो । तर यसबाहेक पनि स्वयम्भूनाथ, बौद्धनाथ, पाटन र काठमाडौँ दरबार क्षेत्रमा रहेका सम्पदा र स्थलको भ्रमणमा पनि उनीहरु उत्तिकै रमाउने गरेका छन् ।
तर पछिल्लो समय भने काठमाडौँ आएका भारतीय पर्यटकहरुको केन्द्र ठमेल पनि बन्न थालेको छ । उनीहरुले यहाँ रहेर नेपाली खानाको परिकार, सांस्कृतिक वातावरणको अनुभव लिनुका साथै नेपाली हस्तकला लगायतका सामग्रीहरुको किनमेलमा पनि उनीहरु रमाउने गरेका छन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष धुब्र अधिकारीले पछिल्लो समय भारतीय पर्यटकका कारण ठमेल क्षेत्रको अर्थतन्त्र चलायमान भएको बताउनुहुन्छ । “भारतीय पर्यटकका कारण अहिले ठमेल क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र क्लबहरु भरिभराउ भएका छन्, यो ठमेलका लागि खुशीको कुरा हो,” उहाँ भन्नुहुन्छ ।
काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयाल अहिलेको समयमा आफ्नो होटलमा आउने पर्यटकमध्ये ३० प्रतिशत भारतीय मात्र रहने गरेको बताउनुहुन्छ ।
“काठमाडौँभित्रको पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने पर्यटकहरु धेरै रहेका छन्,” उहाँ भन्नुहुन्छ । उहाँ काठमाडौँमा आउने धेरै भारतीय पर्यटक पशुपति, गौशाला क्षेत्रमा बस्ने गरेपनि ठमेलमा पनि हिजोआज भारतीय पर्यटकको चहलपहल राम्रो रहेको बताउनुहुन्छ ।
नेपाल घुम्न आउने पर्यटकहरूमध्ये ८० प्रतिशत पर्यटकहरू ठमेल आउने गरेका छन् । ठमेल पुरानो सांस्कृतिक तथा ऐतिहासिक बजार हो । ठमेलभित्र मेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, नाट्टेश्वर, त्रिदेवी मन्दिर, अशोक चैत्य, भगवान बहाल, भगवती मन्दिर, भिमसेनपाटी, गाःहिटी, गुणाकर महाविहार, करुणापुर महाविहार, तःहिटी चैत्य, श्री गाहा चैत्य रहेका छन् ।
सन् २०२५ मा विदेशबाट नेपाल आएका कुल ११ लाख ५८ हजार ४५९ पर्यटकमध्ये छिमेकी मुलुक भारतबाट मात्र २५।२ प्रतिशत अर्थात् दुई लाख ९२ हजार ६२४ पर्यटक नेपाल भित्रिएका थिए । यस्तै, सन् २०२६ को ६ महिनामा ६ लाख २० हजार ४५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये छिमेकी मुलुक भारतबाट मात्र एक लाख ७२ हजार ४८१ पर्यटक नेपाल भित्रिएका छन् ।
भारतबाट जनवरीमा २६ हजार ६२४, फ्रेबुवरीमा २२ हजार ७४५, मार्चमा २५ हजार ७२८, अप्रिलमा १५ हजार १९६, मे मा ४० हजार ७८२ र जुनमा ४१ हजार ८०९ पर्यटक नेपाल घुम्न आएका हुन् ।
नेपाल पर्यटन वोर्डका सञ्चार परामर्शदाता दिलिप कार्की नेपाल पर्यटन वोर्डको वार्षिक नीति तथा कार्यक्रम भारतकेन्द्रित गरेका कारण नेपालमा भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ । नेपालले गएको एक वर्षमा भारतका मुख्य बजारमा २४ वटा पर्यटन प्रवद्र्धनसम्बन्धी मार्ट सञ्चालन गरेको उहाँको भनाइ छ ।
यस्तै, पर्यटन वोर्डले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म तराईका मुख्य नाकाहरुमा नेपालको पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रमले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीयहरुको सङ्ख्यामा वृद्धि भएको छ ।
यसैगरी, पछिल्लो समय जलवायु परिवर्तनको कारण भारतमा गर्मी ह्वातै बढेको र गर्मी छल्नका लागि पनि भारतीय पर्यटकहरु नेपाल आउने गरेका छन् । पछिल्लो समय भारतीय पर्यटकको आगमनले पर्यटकीय राजधानी पोखराको होटल समेत भरीभराउ भएका छन् ।
पोखराको सराङकोटमा सञ्चालित नयाँगाउँ इको रिसोर्टका सञ्चालक विष्णुप्रसाद धिताल पछिल्लो समय भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाएको बताउनुहुन्छ । आफ्नो रिसोर्टमा बढी मात्रामा भारतको उत्तर प्रदेश र विहारबाट पर्यटक आउने गरेको उहाँको भनाइ छ । नेपाल र भारतको खुला नाकाका कारण सिद्धार्थ राजमार्ग हुँदै पोखरा हुँदै मुस्ताङको मुक्तिनाथ बढी मात्रामा भारतीयहरु जाने गरेका छन् ।
नेपाल घुम्न आएका पर्यटकहरुमध्ये अधिकांश पर्यटक मुक्तिनाथ, पशुपतिनाथलगायतका मठमन्दिर घुम्न आउने गरेका छन् । धार्मिक पर्यटनका रुपमा यहाँ भारतीय तीर्थयात्रीहरु आउने गरेका हुन् । रासस



























