देश/प्रदेश
पर्वतको मोदी गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड

पर्वत, असार २३ –
पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा आधुनिक शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सबै विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरेको छ ।
पालिकाभित्र रहेका माध्यमिक तहका विद्यालयलाई ५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।
सामाजिक, आर्थिक रूपान्तरणको रणनीति, समग्र पहुँच र गुणस्तरीय आधुनिक प्रविधियुक्त शिक्षा भन्ने नारालाई आत्मसात् गर्दै रु एक करोड २३ लाख २१ हजारको लागतमा ५२ थान स्मार्ट बोर्ड खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । गाउँपालिकाले विद्यालयमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने अभियानअन्तर्गत बोर्डको व्यवस्थापन गरिएको थियो ।
स्मार्ट बोर्डको प्रयोगले शिक्षकको शिक्षणशैली थप प्रभावकारी हुने, विद्यार्थीको सिकाइ रुचिकर बन्ने तथा सूचना–प्रविधिमैत्री शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने गाउँपालिकाका शिक्षा अधिकृत दिनेश पौडेलले विश्वास व्यक्त गर्नुभयो ।
आधुनिक शिक्षाको आधार नै प्रविधि भएकाले स्मार्ट बोर्डको अधिकतम् सदुपयोग गर्न गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले विद्यालयलाई आग्रह गर्नुभएको छ ।
मार्ट बोर्ड केवल उपकरण नभई शिक्षण सिकाइको गुणस्तर परिवर्तन गर्ने माध्यम भएको उल्लेख गर्दै यसको नियमित र प्रभावकारी प्रयोग गर्न उपाध्यक्ष विमल लामिछानेले आग्रह गर्नुभयो । ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि आधुनिक प्रविधिसहितको शिक्षा उपलब्ध गराउने गाउँपालिकाको प्रयासले विद्यार्थीहरू अब्बल बन्ने उहाँको विश्वास छ ।



























