देश/प्रदेश

ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि

Banner

काठमाडौं, असार २२-

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार विद्युत् उत्पादन तथा वितरण, बैंकिङ तथा बीमा, व्यापार र यातायात क्षेत्रको विस्तारले आर्थिक गतिविधि बढाउँदै समग्र आर्थिक वृद्धिलाई टेवा दिएको हो ।

कार्यालयका अनुसार तेस्रो त्रैमासमा अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १६ वटामा सकारात्मक वृद्धि देखिएको छ । विद्युत् तथा ग्यास क्षेत्र सबैभन्दा बढी २४.८८ प्रतिशतले विस्तार भएको छ भने वित्तीय तथा बीमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत तथा थोक एवं खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यद्यपि कृषि र औद्योगिक क्षेत्रमा देखिएको सुस्तताले समग्र आर्थिक वृद्धिलाई अपेक्षित गतिमा पुग्न भने दिएको छैन । अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्र १.५८ प्रतिशतले मात्र बढेको छ भने उत्पादनमूलक उद्योग ०.५४ प्रतिशतले खुम्चिएको छ । सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र पनि १.५९ प्रतिशतले ऋणात्मक रहेको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको स्वदेशी उत्पादन घटेकाले आर्थिक वृद्धिदर सामान्य रहेको जनाएको छ । यद्यपि ऊर्जा उत्पादन र सेवा क्षेत्रको विस्तारले अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ ।

मौसमी प्रभाव समायोजनपछि हेर्दा दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.५८ प्रतिशतले विस्तार भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कले अर्थतन्त्रको छोटो अवधिको अवस्था र विभिन्न क्षेत्रको गतिविधिबारे संकेत गर्ने भएकाले नीति निर्माण तथा आर्थिक विश्लेषणका लागि महत्वपूर्ण आधारका रूपमा प्रयोग गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>