देश/प्रदेश
पोखरेबगरमा ‘एक घर, एक धारा’

म्याग्दी, असार २०-
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहयोगमा अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर ६ मा पर्ने पोखरेबगर र बैसरीमा खानेपानी सुविधा विस्तार गरेको हो ।
दुई वटा टोलका निजी घर, विद्यालय, मन्दिरसहित ८७ वटा धारा निर्माण भएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । “घारको नुनथलामा रहेको मुहानबाट करिब पाँच किलोमिटर पाइपलाइनमार्फत पानी ल्याएर वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “अन्नपूर्ण गाउँपालिकाको क्रमागत बैसरी–हल्लेखर्क–पोखरेबगर योजनामार्फत गतवर्ष हल्लेखर्क र बैसरीका २४ घरमा खानेपानी सुविधा पु¥याइएको थियो ।”
यसवर्ष बैसरीका बाँकी र पोखरेबगरका सबै घरमा निजी धारामार्फत खानेपानी वितरणको व्यवस्था मिलाइएको जानकारी दिँदै वडाध्यक्ष खड्काले आगामी आवमा नुनथलाको मुहानलाई थप व्यवस्थित गरिने बताउनुभयो । करसहित रु ३५ लाख ४८ हजारमा ठेक्का सम्झौता गरेको गन्जे निर्माण सेवाले निर्धारित समयमै योजना सम्पन्न गरेको अन्नपूर्ण गाउँपालिका–६ का सवइञ्जिनियर वुद्धि बरुवालले बताउनुभयो । उहाँका अनुसार पाइपलाइन, एक वटा १६ घनमिटर क्षमताको नयाँ ट्याङ्की निर्माण, १४ घनमिटरको पुरानो ट्याङ्की मर्मत र ८७ वटा धारा निर्माण भएको छ ।
घरघरमा खानेपानी आपूर्ति भएपछि पानी ओसार्दा हुने झञ्जट हट्नुका साथै समयको बचत भएको छ । यसअघि खानेपानी आपूर्ति नियमित नहुने र वितरण व्यवस्थित नहुँदा उपभोक्तालाई सास्ती थियो । कूल रु एक करोड १९ लाख लागत अनुमान गरिएको बैसरी–हल्लेखर्क–पोखरेबगर खानेपानी योजनाबाट १२५ घरपरिवार लाभान्वित हुने वडाध्यक्ष खड्काले बताउनुभयो । रासस



























