कृषि
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

राँझा (बाँके), असार २० –
सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश क्षेत्रका किसान आकाशे पानीको भरमा छन् ।
पर्याप्त वर्षा नहुँदा यस वर्ष किसानले अझैसम्म धान रोप्न नसकेका कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लामा असारको दोस्रो सातादेखि सुरु गरिएको रोपाइँ शुक्रबारसम्म १८ प्रतिशतमात्र भएको छ । रोपाइँ भएकोमध्ये अधिकांश किसानले सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरिरहेका छन् ।
मसिनो र मध्यम जातका धानखेती गर्ने किसानलाई रोपाइँमा समस्या भए पनि मोटो धानखेती गर्नेलाई ढिलो वर्षा भए पनि समस्या नहुने सूचना अधिकारी शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लामा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ ।
सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइ सुविधा पुगेकाले ती क्षेत्रमा रोपाइँ भइरहेको सूचना अधिकारी शर्माको भनाइ छ । उहाँका अनुसार सिँचाइ अभावका कारण जिल्लाका अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।
रोपाइँको समय भएकाले सिक्टाको पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको आयोजना कार्यालयका सूचना अधिकारी मनोज शाहले बताउनुभयो । उहाँका अनुसार राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएकामा हालसम्म २४ हजार क्षेत्रका किसानले सिँचाइ सुविधा पाएका छन् । रासस



























