देश/प्रदेश

जडीबुटीखेतीतर्फ भोजपुरका किसानको आकर्षण बढ्दो

Banner

भोजपुर, असार १८ –

यहाँका किसानहरू पछिल्लो समय व्यावसायिक जडीबुटीखेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत अन्नबालीको तुलनामा जडीबुटीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखिएपछि यहाँका किसानहरू नयाँ विकल्पको रूपमा यस खेतीतर्फ उन्मुख भएका हुन् ।

विशेषगरी जिल्लाका उच्च लेकाली तथा चिसो हावापानी भएका भू–भाग जडीबुटी उत्पादनका लागि उपयुक्त मानिँदै आएका छन् । यसले गर्दा यस क्षेत्रको सम्भावना अझै उजागर हुँदै गएको छ ।

यहाँका विभिन्न स्थानमा चिराइतो, लोड, सल्ला, सतुवा, पाँचऔँलेलगायत बहुमूल्य जडीबुटीको व्यावसायिकखेती विस्तार हुँदै गएको छ । प्राकृतिक रूपमा पाइने जडीबुटी अहिले किसानले योजनाबद्ध रूपमा खेती गर्न थालेका छन् ।

डिभिजन वन कार्यालयले जडीबुटीखेतीको विस्तारका लागि प्राविधिक ज्ञान, बीउबिजन, तालिम तथा अनुदानमार्फत सहयोग गर्दै आएको छ । कार्यालयको सक्रियताले किसानलाई नयाँ खेती प्रणाली अपनाउन सहज भएको र जोखिम न्यूनीकरणमा सहयोग पुगेको किसानहरूको अनुभव छ ।

स्थानीय किसान नूर्वू शेर्पाले चिराइतो खेतीबाट मात्रै वार्षिक रु चारदेखि पाँच लाख आम्दानीसम्म गरिरहेको बताउनुभयो । “पहिलेदेखि नै जडीबुटीखेती गर्दै आएको थिएँ”, उहाँले भन्नुभयो, “तर अहिले सरकारी सहयोगले यसलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन सकेको छु ।” कार्यालयको सहयोगमा अहिले बारीमा ४० हजार बिरुवा विस्तार गरेको उहाँले जानकारी दिनुभयो । साथै उहाँले तीन किलोग्राम चिराइतोको बीउ छरेको बताउनुभयो ।

उहाँजस्तै अन्य किसानहरूले पनि जडीबुटीखेतीबाट राम्रो आम्दानी लिन थालेपछि गाउँघरमै रोजगारी सिर्जनासँगै वैदेशिक रोजगारतर्फको निर्भरतासमेत घट्न थालेको छ । व्यावसायिक जडीबुटीखेतीमा संलग्न किसानलाई लक्षित गर्दै डिभिजन वन कार्यालय भोजपुरले हरेक वर्ष अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । कार्यालयका वन अधिकृत नुर मुहम्मद मियाका अनुसार आर्थिक वर्ष २०८२\८३ मा ‘प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन’ कार्यक्रमअन्तर्गत छ जना किसानलाई प्रतिव्यक्ति रु एक लाखका दरले चिराइतोखेतीका लागि अनुदान उपलब्ध गराइएको छ । आगामी वर्षहरूमा थप किसानलाई समेट्दै कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यसैबीच, कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको सुनिश्चित गर्न कार्यालयले नियमित रूपमा स्थलगत अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा किसानहरूले उदाहरणीय रूपमा जडीबुटीखेती गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा कपुरसिंह धामीले बताउनुभयो ।

“राज्यको लगानीको सही उपयोग भएको छ कि छैन भन्ने कुरा हेर्न अनुगमन आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “हालसम्म अनुगमन गरेका किसानहरुले राम्ररी नै काम गरेको देखियो । यस्ता कार्यक्रमले किसानलाई आयआर्जनमा टेवा पुग्ने देखिन्छ ।” जडीबुटीको मागसँगै मूल्य बर्सेनि वृद्धि हुँदै जानुले किसानलाई थप उत्साहित बनाएको स्थानीय जडीबुटीे व्यावसायिक प्रेमदोर्ची शेर्पाले बताउनुभयो । जिल्लाका माथिल्लो भेगका अधिकांश किसान जडीबुटीखेतीमा लागेको उहाँको भनाइ छ । गत वर्ष चिराइतो प्रतिमन ४० केजी रु ३० देखि ३५ हजारसम्म बिक्री भएको उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>