देश/प्रदेश
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं , असार १७ –
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएका ३८ वर्षीय ललित बहादुर तामाङ, काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी ३४ वर्षीया सन्तोषी लामा, काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने ४१ वर्षीय रामदास महर्जन र काठमाडौं महानगरपालिका-१५ बस्ने २९ वर्षीय सरिब गिरी रहेका छन् ।
पक्राउ मध्ये वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ, ललित बहादुरले कोसोभो पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, सन्तोषीले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ, रामदासले युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ४५ लाख रूपैयाँ र सरिबले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
वाङ्दीलाई काठमाडौं महानगरपालिका-४ बाट आइतबार, ललित बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, सन्तोषीलाई काठमाडौं महानगरपालिका-१५ बाट शनिबार, रामदासलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार र सरिबलाई काठमाडौं काठमाडौं महानगरपालिका(१५ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


























