देश/प्रदेश

कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

Banner

काठमाडौं, असार १६-

आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रको व्यवसायीकरण अनिवार्य सर्त रहेको बताएका छन् ।

नेपाल न्यूज बैंकसँग नेपालको कृषि क्षेत्रका समस्याका बारेमा कुराकानी गर्दै उनले नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र शान्तिपूर्ण रूपमा ब्यालेटमार्फत भएको सत्ता हस्तान्तरणलाई विश्व इतिहासकै एउटा सुनौलो अवसरका रूपमा व्याख्या गर्दै अबको मुख्य लक्ष्य सुशासन र आर्थिक रूपान्तरण हुनुपर्नेमा जोड दिए ।

शून्य भ्रष्टाचार र सुदृढ शासकीय पद्धतिको जगमा उभिएर मुलुकलाई अगाडि बढाउन अब निर्वाहमुखी खेतीपातीलाई विस्थापित गरी व्यावसायिक कृषि प्रणाली अपनाउनुको विकल्प नरहेको उनको तर्क छ ।

देशको वर्तमान अवस्था चित्रण गर्दै बस्नेतले ६० प्रतिशत जनसमुदाय अझै पनि कृषिमा आश्रित रहेको भए तापनि १८ प्रतिशतले मात्रै व्यावसायिक खेती गरिरहेको तथ्यांक प्रस्तुत गरे । बाँकी ४२ प्रतिशत किसानहरू अझै पनि निर्वाहमुखी खेतीमै सीमित रहेकाले उनीहरू एक प्रकारले अर्ध–बेरोजगारको अवस्थामा रहेको उनले बताए । ती ४२ प्रतिशत किसानलाई व्यावसायिकतातर्फ नडोहोरÞ्याएसम्म र उनीहरूको जीवनस्तर नउकासेसम्म देशमा समतामूलक समृद्धि हासिल हुन नसक्ने उनले दाबी गरे ।

ठूला अर्थशास्त्री र विद्वानहरूको निचोड पनि रोजगारी सिर्जनामै केन्द्रित हुने भन्दै उनले कृषिलाई मुख्य आर्थिक खम्बा बनाउनुपर्नेमा जोड दिए । बस्नेतले कृषिलाई व्यवसायीकरण गर्नका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै आफुले सञ्चालन गरेको ‘आरजु राइस मिल’ले यसको सफल उदाहरण प्रस्तुत गरिसकेको दाबी गरे ।

सानो स्तरबाट सुरु गरिएको भए तापनि आरजु राइस मिलले कृषिलाई कसरी व्यावसायिक मार्गमा लैजान सकिन्छ भन्ने सूत्र स्थापित र प्रमाणित गरिसकेको उनको भनाइ छ । कृषिमा आधारित यो मोडलले नै मुलुकको बेरोजगारी समस्या समाधान गर्ने र समृद्धिको सपना साकार पार्ने विश्वास उनले व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>