देश/प्रदेश

पनौती हिलेजात्राः यौनिकताको दर्साउने अनौठो परम्परा

Banner

काभ्रेपलाञ्चोक, असार १५-

हरेक वर्षको ‘जेष्ठ शुक्ल पूर्णिमा’का अवसरमा काभ्रेपलाञ्चोकको पनौतीमा हिलेजात्राअर्थात् ज्याःपुन्ही मनाइन्छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी ।

जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको परम्परा नै हो । अझ ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यतासमेत यहाँ रहिआएको छ ।

यहाँको परम्परा पनि अनौठो, मौसम पनि अनौठो तरिकाले जात्रासँगै मेलोमेसोमा लागेकै पाइन्छ । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ र भइरहेको पनि यहाँका स्थानीयसँग अनुभव छ । स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ । यस वर्षको जात्रा गत शनिबारदेखि सुरु भएको छ ।

जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको हो । किम्वदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टीका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा मनाउँदै आइएको स्थानीय वृद्ध विकुनारायण ताम्राकार बताउनुहुन्छ ।

करिब ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रुपमा दुईवटा बाँस तेस्र्याइने र एक घण्टा लगाएर देवतालाई तार्ने काम गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई निकै ठूलो जात्राका रुपमा लिने गरिन्छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गर्ने चलन छ ।

यस्तै सोही दिन इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामका साथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षणअर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा ‘यौन क्रियाकलाप’मा रथलाई एकापसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ ।

स्थानीय वृद्धवृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मक्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ । रथ जुधाइसँगै भव्यरुपमा अबीर जात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेरा हाली भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् ।

धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइएको हो । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती अबिर जात्रासहित रथ जुधाउन तँछाडमछाड गर्छन् । इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसेअगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर पछिल्ला केही वर्षदेखि देवता रुपी रथलाई दिउँसो जुधाउने गरिँदै आएको छ ।

जात्राको विधि/परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू) हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने गरिन्छ । कर्माचार्य खोला पारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नाग राजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास रहेको छ । कुनै वर्ष कारणवश जात्रा रोकिएमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिनेजस्ता जनविश्वासकै आधारमा यो जात्रालाई निरन्तरता दिएको छ । अर्को रोचक प्रसङ्ग जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता पनि छ । जात्रामा चिउली चपाएर जीब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गर्छन् । भोजका लागि अधिकांशका घरमा बलि दिने प्रथा अझै कायम रहेको छ ।

पनौती धार्मिक रुपले पनि उत्तिकै महत्वको क्षेत्र मानिँदै आएको छ । पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित अहिल्या (शिला) लाई काठमाडौँको काष्ठमण्डपपछि पुरानो कलाकौशलयुक्त मन्दिरको रुपमा गनिएको छ । शरीरभरि योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या (भक्ति) गर्दा पापमुक्त भएपछि सोही बेलादेखि १२ वर्षे मकर मेला निरन्तर रुपमा चल्दै आएको जनविश्वास छ ।

यस्तै राजा प्रताप मल्लले १७२७ सालमा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता रहेको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पूण्यमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्यमावती मानिदै आइएको हो ।

स्कन्दपूराणअन्तर्गत हिमवत्खण्ड (नेपाल महात्म्य) मा वर्णन गरिएअनुसार परापूर्वकालमा श्रृष्किर्ता परब्रम्हाले ‘अहिल्या’ सुन्दरी सिर्जना गरी दश इन्द्रिया वशमा राख्नसक्ने गौतम ऋषिलाई नासोको रुपमा सुम्पिएपछि यो कुरा थाहा पाएका देवराज इन्द्रले अहिल्याको रुपबाट कामातुर भई ऋषिको भेषमा अहिल्याको सतित्व हरण गरेका थिए । स्नान गरी फर्कंदा इन्द्रबाट अहिल्याको सतित्व हरण भएको थाहा पाएपछि रिसले चुर भएका ऋषिले उनलाई ‘जुन वस्तुमा बढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिएँ’ भनेपछि इन्द्रमा हजारौँ योनीहरु पाप चिन्हका रुपमा देखिएको कथन छ । सतित्व हरणपछि पत्थर झैँ विवेकरहीत अवस्थामा रहेपछि ऋषिले अहिल्यालाई शिला हुने श्राप दिएको र त्रेता युगमा मर्यादापुरुष रामचन्द्रको जन्म हुने र उनकै पाउ स्पर्शपछि उनको श्राप मोचन भयो भनिएको छ ।

अर्को किम्वदन्तीअनुसार पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिकहरु फुल्चोकीमाई कहाँ पूजापाठ गरी पानी माग्थे । दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलिरहेपछि फुल्चोकी माताले जसले पहिले चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने भन्नुभएको थियो । यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले सोहीअनुसार फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको जनाउँदै तोरी र मूलाको फूल (सुन र चाँदीजस्तो देखिने) चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मूला, तोरी र साग खेती गर्नेलाई पानीको अभाव छ भन्दै खुसी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाइदिनुभएको थियो ।

छ वर्षपछि सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरुलाई पनि वरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन् । यसपछि छ/छ वर्षको अन्तरमा गोदावरी मेला र १२/१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ ।

जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणीमा हरेक वर्ष माघ महिनामा साँखु र भक्तपुरका माधवनारायण देवतालाई यहाँ ल्याई दुई दिनसम्म राखिने पनि गरिन्छ । बाह्रवर्षे मकर सङ्क्रान्तिमा पनौतीस्थित त्रिवेणीघाटमा एकमहिने मकर मेला लाग्ने गर्दछ । मेलामा उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गर्दछन् । उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक विश्वास रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>