देश/प्रदेश

‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत

Banner

गोदावरी (कैलाली), असार १५-

कैलालीको गौरीगङ्गा नगरपालिका–१ मा सञ्चालन गरिएको करारखेती प्रवर्द्धन कार्यक्रमले किसानलाई राहत पुगेको छ ।

नगरपालिकाले स्थानीयको पाँच बिघा जमिन भाडामा लिएर कृषक समूहमार्फत तरकारी र फलफूलखेती गर्न थालेपछि कृषकलाई आयआर्जन गर्न ठूलो राहत मिलेको हो । स्थानीय जागृती पशु फलफूल तथा तरकारी कृषक समूहलाई विसं २०८१ देखि वार्षिक रु एक लाख ८३ हजारमा पाँच वर्षका लागि जग्गा भाडामा लिएर गत फागुनदेखि तरकारी र फलफूलखेती गराएको गौरीगङ्गा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बमले जानकारी दिनुभयो ।

उक्त जमिनमा समूहका पाँच जना कृषकले तरकारी तथा फलफुल उत्पादन गरी आत्मनिर्भर बनिरहेको उहाँको भनाइ छ । उक्त कार्यक्रम सफलतातिर उन्मुख रहेकाले नगरपालिकाको अन्य क्षेत्रमा पनि कार्यक्रम विस्तार गर्न लागेको छ ।

नगरपालिकाले जमिन सहुलियत भाडादरमा उपलब्ध गराएर तरकारीखती गरिरहेको समूहका सचिव राजेश बुढाले बताउनुभयो । कृषकले त्यस जमिनमा बेमौसमी तरकारी फर्सी, लौका, भिन्टी, बोडी, भान्टा, खुर्सानी, वसन्ते मकै उत्पादन गर्दै आएका छन् । उनीहरुले मौसमअनुसारको काउली, बन्दा, ब्रोकाउली, सिमी गाजर, मुला धनियाँ, भान्टा, आलु, मटर र गाजर उत्पादन गर्ने सोच बनाइसकेका छन् ।

बेमौसमी तरकारी उत्पादनबाट रु ७५ हजार र मौसमी तरकारीबाट रु चार लाख ५० हजारको बिक्री गर्दै आएको बताउनुभयो । समूहले उत्पादन गरेको तरकारी स्थानीय बजारमा खपत हुने भएकाले सबै खर्च कटाएर समूहमा रु एक लाख ५० हजार बचत भएको समूहले जनाएको छ ।

नगरपालिकाका कृषि प्राविधिक विनोद चौधरीले जमिन नभएका कृषकलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम सुरु गरेकामा छोटो समयमै सफल नतिजा प्राप्त भएको धारणा व्यक्त गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>