खेलकुद
विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

काठमाडौं, असार १५-
फिफा विश्वकप २०२६ को समूह चरण रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएको छ । पहिलोपटक ४८ टोलीको सहभागितामा आयोजना गरिएको विश्वकपले मैदानभित्र र बाहिर दुवै क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको फिफाले जनाएको छ । क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा भइरहेको प्रतियोगिताको समूह चरणमा कुल ७२ खेल खेलिएका थिए । यी खेल हेर्न ४५ लाख ४४ हजार ५४९ दर्शक रंगशालामा पुगेका थिए । फिफाका अनुसार खेल अवधिभर करिब तीन लाख हटडग बिक्री भएका छन् ।
समूह चरणमा ४८ राष्ट्रका १ हजार २४८ खेलाडी सहभागी भएका थिए । अब ३२ टोली नकआउट चरणमा प्रवेश गरेका छन् । तीमध्ये १२ टोली युरोप, ९ अफ्रिका, ५ दक्षिण अमेरिका, ३ उत्तर तथा मध्य अमेरिका, २ एसिया र १ ओसिनियाबाट रहेका छन् ।
यस संस्करणमा अफ्रिकी टोलीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् । पहिलो पटक नौ अफ्रिकी राष्ट्र नकआउट चरणमा पुगेका छन् । यस्तै, बोस्निया एन्ड हर्जगोभिना, केप भर्डे, क्यानडा, डीआर कंगो, कोट डिभ्वार, इजिप्ट र दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह चरणमा कुल २१५ गोल भएका छन, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो । प्रति खेल औसत तीन गोल भएको फिफाले जनाएको छ । फ्रान्स, जर्मनी र नेदरल्यान्ड्सले समान १०–१० गोल गर्दै समूह चरणका सर्वाधिक गोल गर्ने टोली बने ।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्दै नयाँ इतिहास रचेका छन् । उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पु¥याएका छन् । यस्तै, उनले ३८ वर्ष ३५७ दिनको उमेरमा ह्याट्रिक गर्दै विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान पनि बनाए ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकपमा आफ्नो गोल संख्या १० पुर्याउँदै युसेबियोलाई पछि पारेर पोर्चुगलका सर्वाधिक गोलकर्ता बनेका छन् । इंग्ल्यान्डका कप्तान ह्यारी केनले ११ गोलसहित ग्यारी लिनेकरको कीर्तिमान तोड्दै इंग्ल्यान्डका सर्वाधिक विश्वकप गोलकर्ता बने ।
क्यानडाले कतारलाई ५–० ले पराजित गर्दै विश्वकप इतिहासमा एकै खेलमा चारभन्दा बढी गोल गर्ने पहिलो कन्काकाफ टोली बन्न सफल भयो । अमेरिकाले पनि पाराग्वेमाथि ४–१ को जित निकाल्दै विश्वकपमा पहिलोपटक एकै खेलमा चार गोल गर्ने कीर्तिमान बनायो ।
जापानले ट्युनिसियालाई ४–० ले हराएको खेल विश्वकप इतिहासको एक हजारौँ खेल बनेको छ । त्यस्तै, मेक्सिकोले लगातार चार विश्वकप खेल जित्ने पहिलो कन्काकाफ राष्ट्रको कीर्तिमान बनाएको छ भने सेनेगल विश्वकपको एक खेलमा पाँच गोल गर्ने पहिलो अफ्रिकी टोली बनेको छ । फिफाका अनुसार समूह चरणमा खेलाडी, प्रशिक्षक र टोलीहरूले दर्जनौँ नयाँ कीर्तिमान कायम गरेका छन । जसले विश्वकप २०२६ लाई इतिहासकै सबैभन्दा ठूलो र स्मरणीय संस्करण बनाएको छ । रासस

























