देश/प्रदेश

‘सुनुवार समुदायको जनसङ्ख्या कम भएपनि राष्ट्रिय भाव र देशप्रतिको सेवामा सधैँ अग्रसर’

Banner

काठमाडौँ, असार १४-

सुनुवार राष्ट्रसेवक समाजको दोस्रो स्मारिका शनिबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबिच विमोचन गरिएको छ।

सो अवसरमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारको प्रमुख आतिथ्यतामा कवयित्री तारादेवी सुनुवारद्वारा लिखित १०१ वटा फुटकर कविताको सङ्ग्रह ‘जिर्मा’ को समेत लोकार्पण गरिएको हो।

उक्त अवसरमा बोल्दै मन्त्री सुनुवारले सरकारी सेवामा रहेका सुनुवार समुदायका कर्मचारीहरूले इमानदारी, जिम्मेवारी र समर्पणका साथ कार्य गर्दै समाज तथा राष्ट्र निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए।

उनले समाजले आगामी दिनमा पनि समुदायको प्रतिष्ठा अझ उच्च बनाउन निष्ठापूर्वक काम गर्ने विश्वास व्यक्त गर्दै सुनुवार समुदायको जनसङ्ख्या सङ्ख्याका आधारमा कम भए पनि राष्ट्रिय भाव र देशप्रतिको सेवामा सधैँ अग्रसर रहेको जनाए।

समाजका अध्यक्ष अमरदीप सुनुवारले राज्य तथा राष्ट्र निर्माणमा सुनुवार समुदायका राष्ट्रसेवक कर्मचारीहरूको योगदान महत्त्वपूर्ण रहेको चर्चा गरे। समाजद्वारा प्रकाशित दोस्रो स्मारिकाले समुदायको योगदान, अनुभव, इतिहास तथा सिर्जनात्मक गतिविधिलाई दस्तावेजीकरण गर्ने उद्देश्य राखेको उनले जानकारी दिए।

लोकार्पित कविता सङ्ग्रह बारे बोल्दै तारादेवी सुनुवारले ‘जिर्मा’आफ्नै समाजलाई बुझ्ने, पढ्ने र अनुभूति गर्ने क्रममा सिर्जना भएका कविताहरूको सङ्ग्रह भएको बताइन।

समाज अध्ययनका क्रममा भेटिएका विषयवस्तुलाई कवितामा उतारेको जनाउँदै उनले सुनुवार जातिको संस्कार, संस्कृति र ऐतिहासिकतालाई केन्द्रमा राखेर यी कविताहरूले आदिवासीको सुगन्धलाई प्रतिनिधित्व गरेको स्पष्ट पारिन।

उक्त कृतिमाथि डा।अशोक थापा, कुमारी लामा र कवि अमरदीप सुनुवारले ‘जिर्मा’ ले सुनुवार समुदायको भाषा, संस्कार, संस्कृति र सामाजिक जीवनका विविध पक्षलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको बताए।

कृतिमा पुरुषसत्तात्मक समाजमा विद्यमान सामाजिक तथा सांस्कृतिक विकृति, विसङ्गति र विभेदविरुद्ध सशक्त आवाज उठाइएको उल्लेख गरे। यस्ता सिर्जनाले समुदायको पहिचान, भाषा र संस्कृतिको संरक्षण तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास समीक्षकहरूले व्यक्त गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>