देश/प्रदेश
संयुक्त कक्षामा कोचिएर पढ्छन विद्यार्थी, शौच गर्न खेतबारीतिर दौडिन्छन्

दान बहादुर बुढा,
मुगु, असार १४
मुगुको सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि विद्यार्थीहरु दैनिक पठनपाठन संयुक्त कक्षामा पढ्न वाध्य छन् ।
संयुक्त कक्षामा कोठामा बसाइ गर्दा शिक्षकहरुले पढाएको बुझ्नै समस्या भएको विद्यार्थीहरुको गुनासो छ ।
२०३७ सालमा स्थापना भएको नेपाल राष्ट्रिय आधारभुत विद्यालय ४६ बर्ष वितिसक्दा पनि उस्तै समस्या झेलिरहेको हो । सोही विद्यालय पढेर धेरैले राम्रो सफलता पाएपनि स्थानीय अभिभावक, सरोकारवाला र सरकारी वेवास्ताका कारण पूर्वाधारको अभाव व्यहोरिरहेको हो ।
कक्षा ४ र ५ एकै कक्षा कोठामा बसेर पढ्नु परेको छ । आवाजले विद्यार्थीले पढाएको नै बुझ्दैनन् । कतिपय अवस्थामा चौरमै बसेर पढ्नुपर्ने वाध्यता पनि छ । त्यसका साथै शौचालय र खानेपानीको अभाव उस्तै छ ।
विद्यालयमा रहेका चारवटा कोठा मध्ये तीन कोठामा संयुक्त कक्षा सन्चालन भएका छन भने एक कोठा कार्यालय सन्चालन गरिएको छ ।
कक्षा कोठा अभावको कारण कक्षा ४ र ५, कक्षा २ र ३ कक्षा १ र इसिडीका विद्यार्थीलाई संयुक्त बसालेर कक्षा सन्चालन गर्नु परेको छ ।
विद्यालयमा एकसय ६० जना विद्यार्थी, तीन जना दरवन्दी शिक्षक, एक जना ईसिडी शिक्षक र एक जना कर्मचारी छन् ।
शौचालय नहुँदा विद्यार्थीहरु खेतबारीतिर दौडिने गरेका छन् । खानेपानीका लागि कर्मचारीले आधा घण्टा टाढाबाट पानी बोकेर ल्याउने गरेका छन् ।
विद्यालयको समस्या स्थानीय सरकारसमक्ष राखेको भएपनि समाधान हुन सकेको छैन् । एक परियोजनामार्फत खेल मैदान निर्माण भएपनि कक्षाकोठाको चरम अभाव देखिन्छ ।
तर आगामी बर्षबाट पूराना कक्षा कोठाहरुलाई भत्काए नयाँ कक्षाकोठा निर्माणको तयारी पालिकाले गरिरहेको सोरु गाँउपालिका अध्यक्ष धर्म बहादुर शाहीले बताए । न्यूज बैंक


























