देश/प्रदेश
दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बलेवा (बागलुङ), असार १४-
दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किनुभएका बागलुङ नगरपालिका-१२ लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म सञ्चालन गर्दै आउनुभएको छ । स्वदेमै मेहनत गर्दा मनग्य आम्दानी गर्न सकिन्छ लागेर सुरु गर्नुभएको व्यवसायले उहाँलाई व्यावसायिक दूध उत्पादक किसान बनाएको छ ।
शर्माको फार्ममा अहिले २५ वटा माउ गाई छन् भने केही साना बाच्छा र भैँसी पनि छन् । उहाँले गाउँमा दूध उत्पादन गरेर बागलुङ बजारमा बिक्री केन्द्र पनि सञ्चालन गर्नुभएको छ । चार वर्ष साउदीअरेबिया बसेर फर्किनुभएका जैमिनी नगरपालिका नगरपालिका–१ कुश्मीशेराका विकास पौडेलको गोठ पनि दुधालु गाईले भरिभराउ छ । व्यावसायिक दूध उत्पादक किसान बन्नुभएका उहाँको दम्पतीलाई अहिले दूधको उत्पादन र बिक्रीमा भ्याइनभ्याइ छ ।
पौडेल र शर्मा मात्रै होइन पछिल्लो समय विदेशका दुःख सम्झेर गाउँ फर्किने र विदेश जान नचाहने युवाहरू व्यावसायिक कृषि उत्पादनमा लाग्न थालेका छन् । विदेश जानुभन्दा स्वदेशमा बसेर आम्दानी गर्न सकिन्छ भनेर बागलुङका किसान व्यवसायिक पशुपालनमा लाग्न थालेका हुन् । गाईभैँँसी पाल्ने किसानलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट अनुदान, उपचार र प्राविधिक सहयोग उपलब्ध हुन थालेपछि किसान थप हौसिएका छन् ।
बागलुङमा वार्षिक २३ हजार १५७ मेट्रिक टन दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ दूध उत्पादनमा आत्मनिर्भर बनेको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो ।
व्यावसायिक किसानलाई स्थानीय सरकारले सहयोग गर्ने र सङ्घीय तथा प्रदेश सरकारका किसान लक्षित कार्यक्रम किसानसँगै पुग्ने भएकाले दूधको उत्पादन पनि बढेको प्रमुख सापकोटाले बताउनुभयो । आवश्यकताभन्दा बढी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको केन्द्रले जनाएको छ ।
जिल्लाको दक्षिण क्षेत्रबाट छिमेकी जिल्ला पर्वत र पश्चिम क्षेत्रबाट छिमेकी गुल्मीमा दूध निर्यात हुने गरेको तथ्याङ्क रहेको प्रमुख डा सापकोटाले बताउनुभयो । केही वर्ष पहिलासम्म पोखराबाट दूध ल्याएर बिक्री गर्दैै आएका व्यापारी अहिले भने किसानको घरबाट सिधै खरिद गरी डेरी पसलमा ल्याउने गरेका छन् ।
जिल्लामा १५ वटा सहकारीबाट दूध बिक्री हँुदै आएको छ । यहाँका किसानले व्यक्तिगत, समूहगत र सहकारीमार्फत गाई, भैँसीपालन गरी दूध उत्पादन गर्दै आएका जिल्ला दुग्ध सहकारी सङ्घका अध्यक्ष दीपक गौतमले बताउनुभयो । बजारमा स्थानीय उत्पादनले पर्याप्त हुने गरेको उहाँको भनाइ छ ।
जिल्लाभर ८६ हजार ९२० भैँसी र २१ हजार ६६० गाईपालन भइरहेको केन्द्रका प्रमुख डा सापकोटाले जानकारी दिनुभयो । व्यावसायिक र घरायसी प्रयोजनलाई पालिएका पशुचौपायको समेत तथ्याङ्क निकालेर केन्द्रले दूधको उत्पादनको मूल्याङ्कन गर्दै आएको उहाँले बताउनुभयो । केन्द्रका प्रमुख डा सापकोटाका अनुसार यहाँ मुर्रा, स्थानीय क्रस, जर्सी, होलस्टेन जातका गाईपालन हुँदै आएको छ ।
ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सुविधा, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस तथा परालको उपलब्धतालगायत कारणले किसानलाई पशुपालनमा व्यावसायिक बनाउन सहयोग पुगेको किसान विकास पौडेलले बताउनुभयो । उहाँका अनुसार हाल बजारमा दूधको मूल्य थोकमा रु ७० देखि रु ९० तथा खुद्रा रु एक सयदेखि रु १२० सम्ममा बिक्री हुँदै आएको छ । रासस


























