देश/प्रदेश

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

Banner

मान्म (कालीकोट), असार १३-

तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटमा नगरभित्रका कुनै पनि नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराइने भएको हो ।

नागरिकसँग स्थानीय सरकार भएको अनुभूति गराउनका लागि नगरभित्रका नागरिकलाई काजकिरिया खर्च उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रमका लागि आर्थिक सहायता कोषको व्यवस्था गरिने नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो ।

“स्थानीय नागरिकसँग स्थानीय सरकार छ अनुभूति गराउनका लागि यो कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि नगरपालिकाले छुट्टै आर्थिक सहायता कोष स्थापना गरेर त्यसबाट किरिया खर्च उपलब्ध गराउने छ ।” स्थानीय सरकार नागरिकप्रति उत्तरदायी भएकाले जनता केन्द्रित नीति र बजेट ल्याक्ष्इको उहाँको भनाइ छ ।

“जसको कोही छैन, त्यसका लागि सरकार छ भन्ने नागरिकलाई अनुभूति दिन सक्नुपर्छ”, उपप्रमुख शाहीले भन्नुभयो, “त्यसैका लागि नागरिकप्रति लक्षित गरेर यस्ता कार्यक्रम ल्याएका हौँ । यसले गर्दा धेरै नागरिकलाई राहत मिल्नेछ ।”

यो कार्यक्रमले आकस्मिक मृत्यु भएमा गरिब तथा विपन्न परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउने भएकाले किरिया गर्न ऋण लिनुपर्ने बाध्यता केही हदसम्म कम हुने नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । “यसले सामाजिक सुरक्षा र स्थानीय सरकारप्रति नागरिकको भरोसा रहन्छ”, उहाँले भन्नुभयो, “विपद्, दुर्घटना वा आर्थिक रुपमा कमजोर परिवारलाई सहयोग पुग्छ ।”

नगरभित्रका नागरिकको मृत्यु भएमा किरिया खर्च सामाजिक सुरक्षा कार्यक्रम सकारात्मक पहलका रूपमा लिन सकिने तिलागुफा–६ का स्थानीय गणेशबहादुर शाहीले बताउनुभयो । “कार्यक्रम कार्यान्वयनको पारदर्शिता हुनु आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “यसलाई पारदर्शी रूपमा कार्यान्वयन गराउन सके नागरिकमा स्थानीय सरकार भएको अनुभूति हुनेछ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>