देश/प्रदेश
राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो

नेपालगन्ज, असार १३ –
बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सकिएको छ । पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगन्जले जनाएको छ ।
कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा (डिजाइन) अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । उहाँले प्राविधिक अध्ययन र डिजाइनका आधारमा ७०० मिटरको पुल बनिरहेको जानकारी दिँदै स्थानीय जनताले थप ४४० मिटर पुल निर्माण गर्न माग गरेका बताउनुभयो ।
राप्तीसोनारी गाउँपालिका९६ का वडाध्यक्ष लवराज खरेलले थप ४४० मिटर पुल निर्माण भए यहाँको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै कृषि उपजको बजारीकरणसहित आवागमन सहज हुने बताउनुभयो । उहाँले विसं २०७४ को बाढीले यहाँका खला, टेपरी, ढलैयालगायत क्षेत्रमा क्षति पु¥याएपछि स्थानीयको जनजीवन कष्टकर भएको उल्लेख गर्दै नदीको दुवैतर्फ तटबन्ध भएपछि पूरा क्षेत्रमा पुल बन्नुपर्ने तर्क गर्नुभयो । वडाध्यक्ष खरेलले भन्नुभयो, “यहाँको वास्तविक अवस्था र भूगोल हेरेर काम हुनुपर्छ ।”
डुडुवा गाउँपालिकाका९५ का वडाध्यक्ष झङ्कबहादुर थापाले थप संरचना निर्माण नभए अहिले बनिरहेको पुलको औचित्य नरहने उल्लेख गर्नुभयो । पुल निर्माण विस्तार नभए बालापुर, कम्दी, सिधनियाघाट क्षेत्र डुबानमा पर्ने जोखिम रहेको जानकारी दिँदै उहाँले जनताको मागअनुसार एक हजार १४० मिटरको पुल निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।
लुम्बिनी प्रदेशसभाका पूर्वमन्त्री कृष्णा केसीले जनताको असन्तुष्टिलाई सम्बोधन गरेर पुल निर्माण सम्पन्न गर्न सरोकार भएका निकायलाई आग्रह गर्नुभयो । हुलाकी सडक पछिल्लो समय नेपालगन्जबाट बुटवल हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेकाले एक हजार १४० मिटर फराकिलो पुल निर्माण सम्पन्न भएपछि सहज हुने उहाँको भनाइ छ । साँघुरो पुल भएकाले हाल सवारीसाधनले पालो कुरेर पुल पार गर्नुपर्ने बाध्यता छ ।
हाल रहेको करिब ३५० मिटर लामो पुल नजिकै अर्को निर्माण भइरहेको छ । स्थानीयले पुलको लम्बाई ४४० मिटर थप गरी एक हजार १४० मिटर पु¥याउन माग गरेपछि आयोजना कार्यालयले निर्देशनालयमा लिखित अनुरोधसहितको पत्र पठाइएको जनाएको छ ।
यसैबीच, आयोजनाका निर्देशकसहितको उच्चस्तरीय टोलीले पुल निर्माणस्थलबाट स्थलगत जानकारी लिएर फर्किए पनि नतिजा नआएको स्थानीयले बताएका छन् । स्थानीयले पुल निर्माणका क्रममा अधुरो काम नगर्न दबाब दिँदै बाँकी क्षेत्रमा बाँध बनाउने कार्य अस्वीकार गरेका छन् ।
“हामीलाई बाँध होइन, पुल चाहिएको हो, हाम्रो लालपुर्जा भएको जमिनमा राप्ती बगेको छ, खाली जमिनमा बाँध बाँधिएपछि हाम्रो पेट कसरी पाल्ने हो”, राप्तीसोनारी-६ का स्थानीय प्रमोदकुमार सोनकरले भन्नुभयो । सरकारले पुलको लम्बाइ बढाउनुपर्ने माग राख्दै उहाँले बाँकी क्षेत्रमा बाँध बनाउन नहुने धारणा राख्नुभयो ।
आयोजना प्रमुख भण्डारीले जनताका तर्फबाट राखिएका माग केन्द्रसम्म पु¥याइएको बताउनुभयो । ठेक्का सम्झौताअनुसार निर्धारित समयभित्र निर्माण सम्पन्न हुनेगरी काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले प्राविधिक रूपमा पुलको ‘डिजाइन’मा कुनै समस्या नभएको उल्लेख गर्नुभयो ।
डिजाइनअनुसार ७०० मिटर पुल, एक हजार ४८० मिटर ‘एप्रोच’ सडक र चार किलोमिटर नदी नियन्त्रणको काम एकसाथ सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ । विसं २०८४ असारमा सकिने गरी निर्माणाधीन सो पुलको लागत रु ११९ करोड रहेको छ । रासस


























