देश/प्रदेश
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती, १२ असारः
हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८ लाखभन्दा बढीको कारोबार भएको छ । स्थानीयस्तरमा उत्पादित ड्रागन फ्रुटको प्रवर्द्धन, बजार व्यवस्थापन तथा यसको स्वास्थ्य लाभबारे उपभोक्तालाई जानकारी गराउने उद्देश्यका साथ बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिका र प्रादेशिक कृषि थोक बजारद्वारा संयुक्त रूपमा महोत्सव आयोजना गरिएको हो ।
महोत्सव सुरु भएको दुई दिनमा रु १८ लाखभन्दा बढीको कारोबार हो । शनिबारसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन तीन हजार ५०० किलो र दोस्रो दिन चार हजार ५०० किलो ड्रागन फ्रुट बिक्रीबाट उक्त रकम बराबरको करोबार भएको हेटौँडा उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मीले जानकारी दिनुुभयो ।
उहाँका अनुसार महोत्सवमा हेटौँडा, मकवानपुरगढीलगायत स्थानबाट किसानले बगैँचाबाट सङ्कलन गरेका ताजा तथा प्राङ्गारिक ड्रागन फ्रुटको प्रदर्शनी र बिक्री गरिरहेका छन् ।
महोत्सवका अवसरमा ड्रागन फ्रुटको नयाँ खेती गर्न इच्छुक किसानका लागि माटोको तयारी, बिरुवा रोपन, स्याहारसम्भार तथा रोग व्यवस्थापनसम्बन्धी निःशुल्क प्राविधिक परामर्श सेवासमेत प्रदान गरिएको छ । हेटौँडा र आसपासको हावापानी ड्रागन फ्रुटखेतीका लागि उपयुक्त देखिएको भन्दै सहभागी किसानले महोत्सवले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराएको बताएका छन् ।
महोत्सवले स्थानीय कृषि उत्पादनको बजारीकरणसँगै कृषि पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ ।


























