देश/प्रदेश

उदासको फरक पहिचानः वार्षिक छ लाख आम्दानी

Banner

भोजपुर, असार १२-

जनप्रतिनिधि भनेपछि प्रायः राजनीति र प्रशासनिक काममै सीमित हुने धारणाबीच भोजपुरको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास भने फरक पहिचान बनाउन सफल हुनुभएको छ ।

सार्वजनिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै बाँकी समय उत्पादनमूलक क्षेत्रमा लगानी र समर्पित भएर समृद्धिका लागि उदाहरण प्रस्तुत गर्नुभएको छ ।

उदास भन्नुहुन्छ, “कृषि मेरो रुचिको विषय मात्र होइन, सम्भावनाको क्षेत्र पनि हो । नगरको जिम्मेवारीसँग कृषि कर्ममा पनि जुटेको छु ।” उहाँले कृषि कर्म आम्दानीको माध्यम मात्र नभई आत्मनिर्भरता र सम्मानजनक जीवनको आधार रहेको बताउनुभयो ।

विगत ३५ वर्षदेखि निरन्तर व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आउनुभएका मेयर उदासले हाल १५ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचामा करिब ३०० बोट सुन्तला हुर्काउनुभएको छ । उहाँको अनुभव, निरन्तरता र मेहनतको संयोजनले सुन्तलाखेती सफल बन्दै गएको छ ।

सुन्तला बगैँचाबाट मात्रै वार्षिक रु छदेखि आठ लाखसम्म आम्दानी गर्दै आउनुभएका उदासले व्यावसायिक सुन्तलाखेतीबाट ग्रामीण भेगमै बसेर पनि स्थिर आम्दानी लिन सकिने सन्देश दिन सफल हुनुभएको छ ।

कृषिमा विविधीकरणलाई जोड दिँदै उहाँले पाँच वर्षअघि २० रोपनी क्षेत्रफलमा आँप र लिचीखेती विस्तार गर्नुभएको थियो । अहिले उक्त क्षेत्रमा करिब २०० बोट आँप र २०० बोट लिची छ । विस्तार गरिएका केही बोटहरुले फलदिन सुरु गरेको छ । ती फलफूलका बोटले पूर्ण उत्पादनमा दिँदा वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुनेछ ।

दीर्घकालीन सम्भावना बोकेको कफीखेतीतर्फ पनि मेयर उदासको ध्यान गएको छ । दुई रोपनी क्षेत्रफलमा कफीखेती विस्तार गरी भविष्यमा थप आयको स्रोत निर्माण गर्ने प्रयास गर्नुभएकोछ ।

पूर्वशिक्षक तथा सामाजिक अभियन्ता उदासले २५ वर्ष शिक्षण पेसामा बिताउनुभएको अनुभवलाई अहिले कृषि र नेतृत्व दुवै क्षेत्रमा प्रयोग गरिरहनुभएको छ । योजना र निरन्तरतामा विश्वास गर्ने उदासको बानीले कृषि कर्मलाई पनि व्यवस्थित बनाएको छ ।

बहुवर्षीय बाली सुन्तला, कागती, आँप, लिची र कफी एकपटक विस्तार गरेपछि सामान्य हेरचाहमै पनि वर्षेनी राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ ।

“राजनीति गर्ने मान्छेले समाजका लागि उदाहरण बन्नुपर्छ”, मेयर उदास भन्नुभयो, “काम गरेर देखाउँदा मात्रै अरूलाई विश्वास लाग्छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>