देश/प्रदेश
तनहुँमा २७ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ), असार १२ –
डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८२\८३ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमअन्तर्गत २७ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये छवटा मृतावस्थामा फेलापरेका थिए भने २१ वटा जीवित वन्यजन्तुको सफल उद्धार गरिएको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन गरिएको हो । कार्यालयका अनुसार मृतावस्थामा उद्धार गरिएका वन्यजन्तुमा दुईवटा चितुवा, एक चरीबाघ, एक मृग, एक स्याल र एक भार्से रहेका छन् । यस्तै जीवित अवस्थामा उद्धार गरिएका वन्यजन्तुमा एक चरीबाघ, चार अजिङ्गर, १४ विभिन्न प्रजातिका सर्प तथा एउटा गिद्ध रहेका छन् ।
रानाभाटले वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने, घाइते हुने, दुर्घटनामा पर्ने तथा विभिन्न कारणले जोखिममा पर्ने घटना बढ्दै गएको अवस्थामा कार्यालयले उद्धार तथा व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । उहाँका अनुसार उद्धार गरिएका जीवित वन्यजन्तुको स्वास्थ्य अवस्था परीक्षण गरी उपयुक्त र सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको छ ।
“वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यालयको प्रमुख जिम्मेवारीमध्ये एक हो”, रानाभाटले भन्नुभयो, “उद्धार गरिएका वन्यजन्तुलाई आवश्यक उपचार तथा हेरचाहपछि सुरक्षित बासस्थानमा पुनःस्थापना गरिएको छ । यसले जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।”
उहाँले वन्यजन्तु देखिएमा, घाइते अवस्थामा फेलापरेमा वा मानव बस्तीमा प्रवेश गरी जोखिम सृजना गरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गर्नुभयो । समयमै सूचना प्राप्त हुँदा उद्धारकार्य प्रभावकारी बन्ने र मानव तथा वन्यजन्तु दुवैको सुरक्षा सुनिश्चित गर्न सहज हुने उहाँको भनाइ छ ।
तनहुँ जिल्लामा पछिल्ला वर्षहरूमा चितुवा, चरीबाघ, अजिङ्गर तथा विभिन्न प्रजातिका सर्प मानव बस्ती नजिक देखिने क्रम बढिरहेको छ । वन क्षेत्रको अतिक्रमण, बासस्थानमा आएको परिवर्तनका कारण वन्यजन्तु बस्ती क्षेत्रमा आउने गरेको उहाँको भनाइ छ । कार्यालयले वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, उद्धार तथा व्यवस्थापनका गतिविधिलाई निरन्तरता दिएको जनाएको छ ।


























