देश/प्रदेश
मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ, असार १२-
काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा काठमाडौँमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेसासँग सम्बन्धित व्यक्तिहरूसँग कुराकानीसमेत गरेको कामपा स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिनुभयो ।
शिविर जेठ ३० गतेदेखि असार ८ गते सोमबारसम्म चलेको थियो । स्वयम्भू भगवान् पाउ, कमलपोखरी, पञ्चमुखी हनुमान मन्दिर खरिबोट, बौद्ध स्तुप परिसर, इटुम्बहाल, चिवाद्यो आँगन, गहनापोखरी, हाँडीगाउँ डबली, न्हुःघ जोशी देगल मन्दिर परिसर गरी नौ ठाउँमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा आएर सेवा लिनेमा उमेरगत रूपमा हेर्दा १० वर्ष र अधिकतम् ८४ वर्ष उमेर व्यक्तिलाई परामर्श प्रदान गरियो । यसमध्ये सबैभन्दा धेरै १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति हुनुहुन्थ्यो । यस्तै लैङ्गिकताका आधारमा ५५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ५५५ जना महिला र ४०५ जना पुरुष सहभागी हुनुभएको थियो ।
मनोसामाजिक शिविरबाट प्राप्त भएको तथ्याङ्कले सहरमा मानसिक स्वास्थ्य अब व्यक्तिगत समस्यामात्र नभई एउटा भयावह ‘जनस्वास्थ्य सङ्कट’का रूपमा विकसित हुँदै गएको महर्जनले जानकारी दिनुभयो ।
“तसर्थ मानसिक स्वास्थ्यसम्बन्धी केही गर्नका लागि मनोसामाजिक शिविरको माध्यमबाट समुदायस्तरको अवस्था अध्ययन गर्न शिविर चलाएका हौँ”, महर्जन भन्नुहुन्छ, “मानसिक स्वास्थ्य समस्या मनभित्रै र घरभित्रै लुकाउने विषयका रूपमा हेर्नु हुँदैन । शरीरमा लागेको रोग जसरी उपचार गराइन्छ, त्यसरी नै मनमा लागेको रोगको पनि उपचार गराउनुपर्छ ।”
“सहरमा सबै मानिस कुनै न कुनै मानसिक समस्यामा गाँजिएकै छन् । सबैलाई कुनै न कुनै रूपको उपचार चाहिएको छ । यसका केही उपचार व्यक्ति आफैँले गर्न सक्छन् । केही परिवारबाट सम्भव छ । केही समाजबाट र केहीचाहिँ स्वास्थ्यकर्मीबाटै उपचार गराउनुपर्छ”, महर्जनले भन्नुभयो ।
सहरमा मानसिक स्वास्थ्य समस्याको तथ्याङ्कगत अवस्थाले, बढ्दो अवस्था घटाउन विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाताको व्यवस्था, अभिभावकलाई सचेतना, युवाहरूका लागि रोजगारीको सुनिश्चितता र ज्येष्ठ नागरिकका लागि सामाजिक सक्रियताका कार्यक्रमलाई सम्बन्ध भएका निकायले ध्यान दिनुपर्ने बताइएको छ । नत्र सहर एक दिन ‘मानसिक समस्याको मौन महामारी’मा पर्ने जोखिम रहेको बताइएको छ । रासस


























