देश/प्रदेश

बीस वर्षपारि विवाह गर्ने किशोरीलाई १० हजार नगद प्रदान गर्ने

Banner

झापा, असार ११-

झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप रु १० हजार नगद प्रदान गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को नीति, बजेट तथा वार्षिक कार्यक्रमअन्तर्गत बालविवाह अन्त्यका लागि २० वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन गर्ने नीति ल्याएको हो ।

“सानै उमेरको विवाहले किशोरीहरूको स्वास्थ्य, शिक्षा, मानसिक विकास र समग्र भविष्यमा नकारात्मक असर पार्छ”, गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले भन्नुभयो, “यसलाई रोक्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हो ।” आदिवासीको बाहुल्य बसोबास रहेको यस पालिकामा जरा गाडेर बसेको बालविवाहको कुप्रथालाई न्यूनीकरण तथा अन्त्य गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा रु २० लाख रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जसबाट करिब २०० किशोरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ ।

प्रोत्साहन भत्तासम्बन्धी नीतिले किशोरीहरूलाई उमेर पुगेर मात्र विवाह गर्न आत्मबल र प्रेरणा दिने तथा समुदायमा बालविवाहविरुद्ध सचेतना फैलाउन मद्दत पुग्ने आशा लिइएको कार्यवाहक अध्यक्ष थपलियाले बताउनुभयो । पालिकाले आव २०८३र८४ का लागि रु ५३ करोड ९३ लाख ९९ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । गत वर्षको तुलना आगामी आवमा रु दुई करोड ५१ लाख ५५ हजार ४६४ वढी बजेट आएको हो । यसैबीच, झापाका १५ वटै स्थानीय तहले बुधबार अनुमानित बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>