देश/प्रदेश
एसइईमा उत्कृष्ट छात्रछात्रालाई सम्मान

टक्सार (भोजपुर), असार ११ –
भोजपुरमा एसइई परीक्षामा पालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले एसइईमा उत्कृष्ट ल्याउने एक छात्र र एक छात्रालाई नगद ५० हजारसहित सम्मान गरेको हो ।
गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मा रहेको अन्नपूर्ण बागधन रणदिवा माध्यमिक विद्यालयबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर ८ गोगनेमा रहेको विधेश्वर माविकी छात्रा स्नेहा राईलाई गाउँपालिकाले रु ५० हजार र सम्मानपत्र प्रदान गरेको हो ।
आविष्कार तीन दशमलव ५४ र स्नेहा तीन दशमलव ३७ जिपिएसहित पालिका प्रथम भएका थिए । पालिकाको आगामी दिनमा अध्ययनमा उहाँलाई सहयोग हुने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । गाउँपालिकाले विधेश्वरमा मावि गोगनेबाट एसइई परीक्षा उत्तीर्ण गरी एमबिबिएस अध्ययनरत छात्रा सान्गेन्मा साङपाङ राईलाई दुई लाख छात्रवृत्ति प्रदान गरेको छ ।
प्राविधिक विषयमा अध्ययरनत अनुशासित तथा उत्कृष्ट विद्यार्थीहरु पस्लमु शेर्पा, इसा राई र चुडामणि श्रेष्ठलाई नगद रु ५० हजारका दरले छात्रवृत्तिसमेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । यस वर्षका जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाबाट सहभागी भई प्रथम स्थान हासिल गर्ने खेलाडीलाई नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । रासस

























