देश/प्रदेश

गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

Banner

सिरहा , असार ११-

गोलबजार नगरपालिकाको १५औँ नगर सभा बुधबार सम्पन्न भएको छ । नगर सभामा आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ७५ करोड ५६ लाख ८६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरिएको छ ।

नगर उपप्रमुख मानती कुमारी साहले प्रस्तुत गरेको बजेटअनुसार चालुतर्फ ५६ करोड २१ लाख ८६ हजार रुपैयाँ तथा पुँजीगततर्फ १९ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय तथा गत आर्थिक वर्षको मौज्दात रकमलगायत विभिन्न स्रोतबाट वित्तीय व्यवस्थापन गरिने जनाइएको छ ।

नगरप्रमुख श्यामकुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए । उनले यी क्षेत्रको विकासलाई केन्द्रमा राखेर नीति, कार्यक्रम तथा बजेट विनियोजन गरिएको जानकारी दिए ।

नगर सभाका प्रमुख अतिथि तथा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले जनप्रतिनिधिको मुख्य जिम्मेवारी नीति तथा कार्यक्रम निर्माण गर्नु र त्यसको प्रभावकारी कार्यान्वयन कर्मचारीले गर्नुपर्ने बताए । उनले प्रदेश सरकारको नयाँ नीति तथा बजेटले शिक्षा, धर्म तथा सांस्कृतिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

मन्त्री सिंहले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने प्रदेशका आठ वटै जिल्लाका पाँच–पाँच विद्यालयलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको समेत जानकारी दिए ।

जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख दिलीप लामाले गोल बजारमा २४ घण्टा सेवा दिने सरकारी अस्पतालको आवश्यकता औँल्याउँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे ।

नगर सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ तथा शुद्ध खानेपानीको दिगो व्यवस्थापनमा जोड दिएका थिए । उनीहरूले विकास निर्माणका योजनालाई दिगो र प्रभावकारी बनाउन नगरपालिकाले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

मेयर श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगर सभामा प्रमुख प्रशासकीय अधिकृत रूपनारायण खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन वडा नं। ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता सञ्जित लामाले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>