चितवन विशेष
रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादनको माग बढ्यो, दैनिक एक लाखभन्दा बढीको बिक्री

चितवन, १० असारः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादनहरू मोही, दही र आइसक्रिमको बिक्री वितरणले विशेष आकर्षण बटुलिरहेको छ ।
सरकारको पूर्ण स्वामित्वमा रहेको डीडीसीका मोही, दही, फ्लेभर मिल्क, आइसक्रिमलगायत उत्पादनका साथै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र डीडीसीको सहकार्यमा विभिन्न दुग्ध उत्पादक सहकारी तथा डेरीहरूले आकर्षक प्लास्टिक बोतलमा प्याक गरिएको मोही बिक्री गरिरहेका छन् ।
डीडीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको स्टलमा विभिन्न दुग्ध सहकारी तथा डेरीहरूले आफ्ना उत्पादन बिक्री गरिरहेका छन् । गर्मी मौसमका कारण विशेषगरी मोहीको माग उच्च रहेको डीडीसीका प्राविधिक संजीव यादवले बताए ।
उनका अनुसार मोहीलाई ‘ड्रिङ्किङ योगर्ट’ का रूपमा समेत प्रयोग गरिने भएकाले शरीरलाई शीतलता र हाइड्रेसन प्रदान गर्न मद्दत पुग्छ । त्यसैगरी केसरयुक्त फ्लेभर मिल्कप्रति पनि उपभोक्ताको आकर्षण बढेको छ ।
महाधिवेशनको सुरुवाती दिनमा बिक्री ह्वात्तै बढेको थियो र हाल दैनिक औसत एकलाख रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ । संस्थानले उपभोक्ताको मागलाई ध्यानमा राख्दै सेवामूलक भावनाका साथ छुट मूल्यमा उत्पादनहरू उपलब्ध गराएको छ ।
उदाहरणका लागि, बजारमा ७० रुपैयाँ पर्ने मोही र केसर मिल्कलाई ६० रुपैयाँमा र ३१० रुपैयाँ पर्ने लालमोहन पेडालाई २९० रुपैयाँमा बिक्री गरिएको छ ।
यादवले भने, ‘चितवन गर्मी क्षेत्र भएकाले मोहीको माग अत्यधिक छ । फ्लेभर र केसर मिल्कको बिक्री पनि उल्लेख्य रूपमा भइरहेको छ । पहिलो दिन बिक्री निकै बढेको थियो भने अहिले पनि दैनिक एक लाख रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ।’
उनका अनुसार महाधिवेशनस्थलमा बिक्रीको माग बढेसँगै नजिकका आयोजना तथा केन्द्रबाट थप दुग्धजन्य पदार्थ मगाएर आपूर्ति गरिँदै आएको छ।
यादवले प्रधानमन्त्रीको स्वदेशी उत्पादन प्रवद्र्धन अभियानले डीडीसीप्रति उपभोक्ताको आकर्षण बढाउन सहयोग पुगेको दाबी गरे।
‘स्वदेशी उत्पादनको प्रवद्र्धन र ब्रान्डिङले उपभोक्ताको ध्यान डीडीसीतर्फ तानेको छ । यसले किसान, उपभोक्ता र संस्थान तीनै पक्षलाई फाइदा पुगेको छ,’ उनले भने ।
वर्तमान सरकारले स्वदेशी उत्पादनलाई दिएको प्रोत्साहन र ब्राण्डिङको प्रयासले उपभोक्ताहरू डीडीसीका उत्पादनहरूप्रति थप आकर्षित भएको यादव बताउँछन्। यस पहलले राज्यको जीडीपीमा योगदान पुर्याउनुका साथै किसानको भुक्तानीमा पनि केही हदसम्म सहजीकरण भएको उनले बताए।
उनका अनुसार दुग्ध विकास संस्थान सरकारको पूर्ण स्वामित्वमा रहेको र यसले ग्रामीण किसानको दूध संकलन गरी प्रशोधन गरेर सस्तो मूल्यमा उपभोक्तालाई पुर्याउने उद्देश्य राखेको छ ।
यता धनकुटाका व्यवसायिक कृषक तथा जिल्ला दुग्ध सङ्घका अध्यक्ष नारायणबहादुर कटुवालले पनि महाधिवेशनमा डीडीसीका उत्पादनको बढ्दो बिक्रीलाई सकारात्मक रूपमा लिएका छन्। उनका अनुसार सरकारले स्वदेशी दुग्धजन्य उत्पादनको प्रचार–प्रसार गरेपछि बजारमा माग बढेको हो।
कटुवालले हालको प्रवद्र्धनात्मक गतिविधि सकारात्मक भए पनि समग्र दुग्ध क्षेत्रमा देखिएका समस्याहरूप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन्। कटुवालले विदेशी पेय पदार्थहरू (कोक, फ्यान्टा) को तुलनामा स्वदेशी दुग्धजन्य उत्पादनहरू स्वास्थ्यका लागि फाइदाजनक रहेको उल्लेख गर्दै यस्ता उत्पादनको बजार विस्तार गर्नुपर्नेमा जोड दिए।
कटुवालले भने, ‘विदेशी पेय पदार्थको विकल्पका रूपमा नेपाली मोहीको प्रयोग बढ्नु सकारात्मक कुरा हो। अहिले ६० रुपैयाँमै मोही उपलब्ध भइरहेकाले उपभोक्ताले पनि रुचाएका छन्।’
उनले डीडीसीले किसानको भुक्तानी समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए। उनका अनुसार किसानको करिब ६ महिनाको भुक्तानी अझै बाँकी छ।
‘डीडीसीको बजार विस्तार हुनु राम्रो हो तर किसानको भुक्तानी रोकिएर हुँदैन । सरकारले आवश्यक सहयोग गरेर बाँकी रकम तत्काल उपलब्ध गराउनुपर्छ,’ उनले भने ।
कटुवालले डीडीसीलाई दीर्घकालीन रूपमा सक्षम बनाउन सरकारबाट वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै किसान, दुग्ध उद्योग र उपभोक्ताको हितलाई ध्यानमा राखेर नीति अघि बढाउन आग्रह गरे ।
उनका अनुसार दुग्ध विकास संस्थानमा बजारको समस्या पुरानै हो । विगतमा बजार नहुँदा संस्थानले दूध खरिदमा कन्जुस्याई गर्ने र किसानको भुक्तानी ६ महिनासम्म बाँकी राख्ने गरेको तितो यथार्थ उनले पोखेका छन्। हाल सरकारले १०० दिनको टार्गेट राखेर १५–२५ दिनभित्र भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि ५८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ ।
‘सरकारले संस्थानको घाटा परिपूर्ति गर्न तुरुन्त रकम उपलब्ध गराउनुपर्छ । ५०–५० करोडको स्रोत भर्ना र एक अर्बसम्मको लगानी गरेर मात्रै संस्थानलाई र यहाँका हजारौं कृषकलाई बचाउन सकिन्छ,’ उनले भने।
उनले केवल बिक्रीमा भर नपरी सरकारले संस्थागत संरचनालाई बलियो बनाउन तत्काल राहतका प्याकेज ल्याउनुपर्नेमा जोड दिए।
रास्वपा महाधिवेशनमा सहभागी हजारौँ प्रतिनिधि तथा कार्यकर्ताको उपस्थितिबीच डीडीसीका उत्पादनको बढ्दो बिक्रीले स्वदेशी दुग्धजन्य वस्तुप्रतिको आकर्षण पुनः बढ्दै गएको संकेत गरेको छ ।
महाधिवेशनको भिडभाडमा स्वादिलो र स्वास्थ्यवर्धक मोही सहज रूपमा उपलब्ध हुनुले सहभागीहरूलाई त राहत दिएकै छ, साथै यसले नेपालको दुग्ध क्षेत्रमा भइरहेको व्यावसायिक रूपान्तरणको सकारात्मक सन्देश पनि प्रवाह गरेको छ। सहभागिहरुका अनुसार यस्ता स्टलहरूले स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्न र नेपाली डेरी उद्योगलाई आत्मनिर्भर बनाउन थप प्रेरणा दिने देखिन्छ ।


























