चितवन विशेष
ऐतिहासिक कोटिहोम महायज्ञ अन्तिम चरणमा

भरतपुर, असार १०-
योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञ अन्तिम चरणमा पुगेको छ । दुई महिनासम्म चलेको ऐतिहासिक कोटिहोम महायज्ञ सकिन अब चार दिन मात्रै बाँकी छ । महायज्ञ अन्तिम चरणमा पुग्दै गर्दा भक्तजनको सहभागीता पनि उत्साहपूर्ण देखिन्छ । गत वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ यहि असार १४ गते सम्पन्न हुँदै छ ।
महायज्ञमा सवा करोड हवन भइसकेर करिब पाँच करोड दीप प्रज्वलन पनि भइसकेको छ । गोरखनाथको तान्त्रिक बिजमन्त्रद्धारा हवन गरिएको हो । यसैबीच, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ राम्चेका पोखरी प्रसाद पनेरीले आफ्नो स्वर्गीय आमा भिमकुमारी पनेरीको स्मृतिमा मंगलबार महायज्ञलाई एक लाख पाँच हजार ५०० रुपैयाँ प्रदान गरेका छन् ।
असार १४ गते महायज्ञको पूर्ण आहूति हुँदै छ । पूर्ण आहूतिको दिन भक्तजनलाई विभूतिको प्रसाद वितरण गरिने महायज्ञका मुलकर्ता एवम् संयोजक प्रेमनीधि भारद्धाजले जानकारी दिए । हवन गरेको भष्मलाई विभूति भनिन्छ । अहिले दैनिक ४६ हजार तर्पण मार्जन ९हवन० भइरहेको छ ।
राष्ट्रगुरू योगी नरहरिनाथको संकल्प र राष्ट्र शान्ति, राष्ट्रको कल्याण, विश्व शान्ति र विश्वको कल्याणका लागि महायज्ञ आयोजना गरिएको हो ।

























