चितवन विशेष
आज “द एभरेष्ट टक शो” को दोस्रो शृङ्खला प्रसारण हुँदै

भरतपुर, असार ६-
एभरेष्ट प्रिस्कुल, भरतपुर–१२, थानीचोक, चितवनद्वारा निर्माण गरिएको लोकप्रिय कार्यक्रम “द एभरेष्ट टक शो” को दोस्रो शृङ्खला आज असार ६ गते शनिबार प्रसारण हुँदैछ।
कार्यक्रमको भिडियो ब्रोडकास्टिङ पार्टनर नारायणी अनलाइन, अडियो ब्रोडकास्टिङ पार्टनर कालिका एफएम ९५.२ मेगाहर्ज तथा प्रिन्ट मिडिया पार्टनर चितवन पोस्ट दैनिक रहेका छन्। एभरेष्ट प्रिस्कुलका लागि यो कार्यक्रम फोटो फ्याक्ट्रीद्वारा निर्माण गरिएको हो।
शिक्षा, बाल्यकाल, विद्यालय जीवन, सामाजिक योगदान तथा प्रेरणादायी अनुभवहरूलाई केन्द्रमा राखेर तयार गरिएको यस टक शोमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूसँग संवाद प्रस्तुत गरिँदै आएको छ। पहिलो सिजनमा शिक्षक, व्यवसायी, बैंकर, पत्रकार, चिकित्सक, समाजसेवी तथा राजनीतिज्ञलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ।
आज प्रसारण हुने दोस्रो शृङ्खलामा हिमालय आधारभूत विद्यालयकी शिक्षिका तथा सह–प्राध्यापक श्रीमती सीता ढकाल अधिकारी अतिथिका रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रममा उहाँले आफ्नो जीवन यात्रा, शिक्षण पेशामा प्रवेशदेखि हालसम्मका अनुभव, चुनौती, संघर्ष तथा उपलब्धिहरूका बारेमा खुलस्त रूपमा चर्चा गर्नुभएको छ।
विशेषगरी शिक्षा क्षेत्रमा बिताएको ३७ वर्ष लामो समर्पित यात्राका अनुभवहरू, विद्यार्थीहरूसँगको आत्मीय सम्बन्ध, समयसँगै शिक्षण प्रणालीमा आएको परिवर्तन तथा समाज निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिकाबारे उहाँका विचारहरू यस एपिसोडको मुख्य आकर्षण रहनेछन्। उहाँका अनुभव, संघर्ष र सफलताका कथाहरूले शिक्षक, विद्यार्थी तथा अभिभावक सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ। कार्यक्रम सञ्चालन वरिष्ठ सञ्चारकर्मी तथा रेडियो होस्ट महिमा पण्डित भट्टराई ले गर्नुभएको छ।
कार्यक्रमका निर्देशक तथा एभरेष्ट प्रिस्कुलका सञ्चालक गणेश राना का अनुसार “द एभरेष्ट टक शो” शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्वहरूको ज्ञान, अनुभव र प्रेरणादायी कथालाई समाजसमक्ष प्रस्तुत गर्ने साझा मञ्च हो। उहाँले यस्ता संवादहरूले शिक्षा क्षेत्रलाई थप सशक्त र प्रेरणादायी बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
“द एभरेष्ट टक शो” आज साँझ ७ः०० बजे नारायणी अनलाइनमार्फत अडियो–भिडियो स्वरूपमा प्रसारण हुनेछ भने राति ९ः०० बजे कालिका एफएम ९५।२ मेगाहर्जबाट अडियो स्वरूपमा सुन्न सकिनेछ।
शिक्षा, प्रेरणा र अनुभवलाई केन्द्रमा राखेर तयार गरिएको यस कार्यक्रमले समाजमा सकारात्मक शैक्षिक संवादको विस्तार गर्दै अनुभवी व्यक्तित्वहरूको जीवनयात्रालाई नयाँ पुस्तासम्म पुर्याउने अपेक्षा गरिएको छ।


























