देश/प्रदेश
हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै

पाँचथर, जेठ २९ –
लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङले शासन सत्ता सञ्चालन गरेको स्थान हिलिहाङ गाउँपालिका-४ हस्तपुरमा प्यागोडा शैलीको दरबार निर्माण भएपछि पर्यटकको आकर्षण बढेसँगै आन्तरिक पर्यटन प्रवर्द्धन हुन थालेको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण हिलिहाङ दरबार क्षेत्रमा पूर्वाधार विस्तार गरिएपछि पर्यटन प्रवर्द्धनको माध्यम बनेको हो ।
दरबार क्षेत्रमा प्यागोडा शैलीको तीनतले दरबार निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र हिलिहाङ गाउँपालिकाको साझेदारीमा रु दुई करोड ५१ लाख ६८ हजारको लागतमा दरबार निर्माण भएको गाउँपालिका कार्यालयले जनाएको छ । मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा निर्माण भएको दरबारका संरचना भगवती बौद्ध जेभी इलामले निर्माण गरेको हो ।
दरबारमा अवलोकनका अन्य सामग्री नभए पनि यसको आकर्षक बनोट, यहाँको भूगोल र इतिहासप्रतिको चासोले पर्यटकलाई आकर्षण गर्ने गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताउनुभयो । उहाँका अनुसार यहाँ पुग्ने पर्यटकले राजा हिलिहाङको समयका बैठकस्थल, राजसभास्थल, पर्खाल, दरबारमा प्रयोग भएका इँटा, खड्पललगायत संरचनाको अवलोकन गर्न पाउँछन् । त्यस्तै राजा हिलिहाङले शक्ति प्राप्त गरेको विश्वास गरिने युमा साम्माङ माङयुक्ना हिम (महारानी शक्तिपीठ) को दर्शन गर्ने प्रचलन रहिआएको उहाँले जानकारी दिनुभयो ।
नेपालको संविधानबमोजिम स्थानीय तह पुनर्संरचनाका क्रममा साविकका भारपा, सुभाङ, पञ्चमी र अमरपुरलाई जोडेर हिलिहाङ गाउँपालिका बनेपछि राजा हिलिहाङ तथा उहाँको दरबारबारे खोजी सुरु भएको थियो । हिलिहाङ फाउन्डेसनले मेची राजमार्गको याङवरक गाउँपालिका–६ नागीमा प्रवेशद्वार निर्माण गर्नुका साथै हिलिहाङ दरबार अगाडि सालिक निर्माण गरेको छ ।
गाउँपालिकाले हिलिहाङ महोत्सव गर्नुका साथै कोशी प्रदेश सरकारसँगको साझेदारीमा सङ्ग्रहालय स्थापना गरेपछि यस क्षेत्रबारे थप चासो बढेको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार पुरातत्व विभागले हिलिहाङ दरबार क्षेत्रको पुरातात्विक सम्पदाबारे खोजी गरिरहेको छ ।
समुद्री सतहबाट एक हजार ८२० मिटर उचाइमा पर्ने हिलिहाङ दरबार क्षेत्र जङ्गलको बीचमा अवस्थित छ । शान्त, एकान्त र सुन्दर हरियालीमा अवस्थित यस पर्यटकीय क्षेत्रसम्म गाउँपालिकाको पहलमा सडक विस्तार भएपछि पर्यटकको आवागमन सहज भएको छ । गाउँपालिकाले पाँच वर्ष अघिदेखि राजा हिलिहाङको जन्मोत्सव मनाउन थालेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिलिहाङ दरबार क्षेत्रलाई पर्यटकको आकर्षण बनाउने, हिलिहाङ राजाको शासनकालका सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राख्ने प्रयास भइरहेको छ । दरबार क्षेत्रसँगै जोडिएको भोटेगढीसहित पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्न पालिकाले लगानी गरिरहेको उहाँले बताउनुभयो ।
“नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा फौजसँग हिलिहाङको फौज १७ पटकसम्म अपराजित रहेको विश्वास गरिन्छ । तर विसं १८३१ साउनमा राजा हिलिहाङले नेपाल एकीकरण अभियानलाई सहजीकरण गर्दै याङवरक थुम ९जिल्ला०लाई नेपाल मातहत राखी स्वशासनको अधिकार लिनुभएको इतिहास छ । विसं १८४२ मा हिलिहाङको अकस्मात मृत्यु भएपछि याङवरक थुम पूर्णतः नेपाल मातहतमा गाभियो । यही आधारमा हिलिहाङलाई लिम्बूवानका अन्तिम राजा भन्ने गरिन्छ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।
पराक्रमी मानिने राजा हिलिहाङको निधनपछि उहाँसँग रुष्ट पक्षले दरबार र राज्यसत्तामा दखल दिएकाले दरबारको संरक्षण हुन नसक्दा भत्किएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । अध्यक्ष अधिकारीका अनुसार उक्त दरबारमा प्रयोग भएका इँटा र सो समयमा लगाइएका पर्खालहरू अझैपनि दरबार परिसरमा छन् । रासस
























