कृषि

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

Banner

म्याग्दी, जेठ २९-

यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ ।

विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिनुभएको हो । छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताउनुभयो ।

“पहिले साउदीबाट आएर राहुघाटमा जग्गा किनेर बाख्रा र कुखुरापालन गरेको थिएँ”, उहाँले भन्नुभयो, “छोराछोरीले पोर्चुगल बोलाएपछि करिब १४–१५ महिना त्यहाँ बसेँ, घुमे । पिआर कार्ड पनि बनाएँ । घर आएपछि फर्किएर पोर्चुगल जान मन लागेन । सम्मान र सन्तुष्टिका लागि बाख्रापालनलाई निरन्तरता दिएको हो ।”

पोर्चुगल जानुअघि मल्लले २०६८ सालमा रघुगङ्गा बाख्रा तथा कृषि फार्म स्थापना गरेर बाख्रा, कुखुरापालन, मासु पसल सञ्चालन गर्दै आउनुभएको थियो । हाल ९१ वटा बाख्रा भएको मल्लको फार्मबाट वार्षिक २५ देखि ३० वटा खसीबोका बिक्री हुन्छ ।

खसीबोकाकै हाराहारीमा पाल्नका लागि उन्नत जातका पाठापाठी पनि किसानले लैजाने गरेका छन् । उहाँको फार्ममा स्थानीय जमुनापारी, सिनाल र बोयर जातका बाख्रा छन् । फार्ममा उहाँका परिवारका दुई जना सदस्यबाहेक थप दुई जनालाई रोजगारी दिनुभएको छ ।

मासुका लागि प्रतिकिलो रु छ सय र नश्ल सुधार गरेका पाठापाठीलाई प्रतिकिलो रु आठ सयदेखि एक हजारका दरले गोठबाटै बिक्री हुने गरेको मल्लले बताउनुभयो । उहाँका अनुसार फार्ममा करिब रु ५० लाखभन्दा बढी लगानी भएको छ ।

उहाँले घरवरपर प्रशस्त पाखोबारी भएकाले चरनमा आधारित बाख्रापालन गर्नुभएको छ । खोरभित्र उमेर समूहअनुसार पाठापाठी, माउ बाख्रा, खसीबोका राख्ने छुट्टाछुट्टै कोठा छन् । गलेश्वर र बेनी उहाँले उत्पादन गरेका खसीबोकाको बजार हुन् । व्यापारी गोठमै आएर खसीबोका किनेर लैजान्छन् ।

विदेशमा स्थायी बसोबासको अवसर हुँदाहुँदै पनि मल्लले जन्मथलो फर्केर बाख्रापालनलाई निरन्तरता दिएकाले कृषि क्षेत्रमा अवसर र आत्मसन्तुष्टि दुवै प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ । स्थानीय स्रोतसाधन, पाखोबारी र चरनको सदुपयोग गरेर रोजगारी सृजना, आयआर्जन र उद्यमशीलता विकास गर्न सकिने उहाँको सन्देश छ ।

“युवापुस्तासहित वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई स्वदेश फर्केर उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने मेरो प्रयास हो”, मल्लले भन्नुभयो, “विदेशको सुविधाभन्दा आफ्नै गाउँमा कृषि उद्यमबाट प्राप्त हुने सम्मान, आत्मसन्तुष्टि र आत्मनिर्भरता ठूलो हुने महसुस गरेको छु ।”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>