समाचार
१९ वर्षपछि पैतृक थलो फर्किएका रेग्मी मौरीपालनबाट आत्मनिर्भर बन्दै

वालिङ (स्याङ्जा), जेठ २७ –
मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लाग्नुभएको छ । उहाँ झन्डै १९ वर्ष विदेश बस्नुभएको थियो ।
उहाँले ‘रेग्मी बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरी मौरीपालन व्यवसाय सुरु गर्नुभएको छ । रेग्मीको फर्ममा १५० घार मौरी पुगेका छन् ।
रेग्मीले प्रतिगोला रु ८०० का दरले माहुरी बिक्री गर्नुहुन्छ । यस वर्ष उहाँले रु आठ लाख आम्दानी गर्नुभएको छ ।
“मैले मौरीको गोलामात्रै प्रतिफ्रेम रु ८०० का दरले बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “ग्राहकले आफ्नै घार ल्याउनुहुन्छ, मैले उक्त घारमा पाँच फ्रेमका दरले मौरी उपलब्ध गराउँछु ।”
“मैले महभन्दा पनि मौरीका कीरा नै बिक्रीलाई प्राथमिकता दिएको छु”, उहाँले भन्नुभयो, “एक वर्षमा झण्डै २०० भन्दाबढी घार बिक्री हुने गरेको छ ।” उहाँले एक घारमा पाँच फ्रेम मौरी राखेर रु चार हजारमा बिक्री गर्दै आउनुभएको छ ।
चापाकोट नगरपालिकाले रेग्मीलाई मौरीपालनका लागि रु एक लाख अनुदानसमेत उपलब्ध गराएको छ । रासस
























