देश/प्रदेश
अन्तरराष्ट्रिय स्तरको सम्मेलन बोधी संवादको आयोजना हुने

काठमाडौँ जेठ २७ –
मुलुकको अर्थतन्त्र र भू–राजनीतिको विषयमा केन्द्रित भई नेपालमा अन्तरराष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी सेसिफ आयोजक रहेको सो सम्मेलनलाई ‘बोधि संवाद’ नाम दिइएको छ ।
मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सम्मेलन आउँदो मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनसम्म चल्नेछ । सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णका अनुसार सम्मेलनमा नेपालको आर्थिक विकासको सम्भावना तथा दक्षिण एसियामा विकसित हुँदै गएको भू–राजनीतिक परिवेशका बारेमा नेपाली र विदेशी विज्ञहरूबीच छलफल हुनेछ ।
बोधि संवादलाई आर्थिक, राजनीतिक तथा भू–राजनीतिक परिवर्तनबारे गम्भीर र दूरदर्शी बहसको साझा मञ्चका रूपमा प्रस्तुत गर्न लागिएको जानकारी दिइयो । सम्मेलनबाट प्राप्त हुने सुझावलाई लिपिबद्ध गरेर सरकारलाई जानकारी गराउने अध्यक्ष कर्णले बताउनुभयो ।
नेपालको मौलिक ज्ञान तथा सरकारले अगाडि सारेको सौम्य कूटनीतिलाई सहयोग पुयाउने उद्देश्यले सम्मेलनको नाम नै बोधि संवाद राखिएको कर्णले उल्लेख गर्नुभयो ।रासस
























