देश/प्रदेश
अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम

घोराही (दाङ), जेठ २७ –
घोराही उपमहानगरपालिका–१४ का सुमन चौधरी अचार बनाउने तालिममा सहभागी हुन पाउँदा खुसी हुनुहुन्छ । उमेरले ३५ वर्ष पुग्नुभएका उहाँ शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ ।
विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रको आयोजना तथा अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपाल दाङको समन्वयमा घोराही उपमहानगरपालिका–१५ स्थित अमृत टोलमा सञ्चालन भइरहेको १५ दिने अचार बनाउने तालिममा उहाँलगायत अपाङ्गता भएका व्यक्तिहरु हुनुहुन्छ ।
घरमा बनाउँदै आएको अचारभन्दा तालिमका क्रममा सिकेको विधि धेरै फरक भएको उहाँले बताउनुभयो । “अचार बनाउँदा के कस्ता कुरामा ध्यान दिने, कुन अचार कसरी बनाउने, यसका विधिलगायत विषय सिक्न पाए, शारीरिक रुपमा आफू अपाङ्ग भए पनि गर्न सकिने रहेछ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।
उहाँ जस्तै तालिममा सहभागी २२ वर्षीया सृजना बस्नेत पनि सीप सिक्न पाउँदा खुसी लागेको बताउनुभयो । बस्नेत सुन्न सक्नुहुन्न । हेरेर र दोभासेको सहयोगबाट अचार बनाउने सीप सिक्न सहज भएको उहाँको भनाइ छ । नसुने पनि देखेर पनि धेरै कुरा सिक्न सकेको र प्रशिक्षकबाट पनि रामो सहयोग पाएको उहाँले बताउनुभयो ।
तालिममा सहभागी हुनुभएका घोराही–१५ का २७ वर्षीया कृष्णा केसीले तालिमले धेरै सहयोग गरेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिले अवसर पाए काम गर्न सकिने उहाँको अनुभव छ ।
प्रशिक्षक सुशीला थापाले अपाङ्गता भएका महिला दिदीबहिनीहरुलाई सीपमा जोडन पाउँदा खुसी लागेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिको जीवनयापन सहज बनाउनका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । संस्थाका अध्यक्ष देवका खनालले दोभासेको काम गर्ने भएको हुँदा सिकाउन सहज भएको उहाँको भनाइ छ । सहभागीहरु पनि निकै सक्रिय भएर सिक्दै आएको उहाँ बताउनुहुन्छ । रासस
























