देश/प्रदेश
बाह्र वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक, जेठ २६ –
जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ गरेको छ । अदालतद्वारा विभिन्न मितिमा फैसला भई कैद सजाय तथा जरिवाना तोकिएका ती प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत धुलिखेलमा पठाइएको कार्यालयले जनाएको छ ।
जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद फैसला सुनाइएका रोशी गाउँपालिका–४ का ३९ वर्षीय होमबहादुर कार्कीलाई सोमबार पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले बताउनुभयो । उहाँका अनुसार कार्की १२ वर्षदेखि लुकीछिपी फरारको अवस्थामा रहँदै आएका थिए ।
यस्तै अदालतद्वारा लेनदेन कारोबारमा दुई वर्ष कैद तथा रु १५ लाख जरिवाना तोकिएका फरार पनौती नगरपालिका–५ का ६२ वर्षीय शालिकराम सापकोटा र बैंकिङ कारोबारमा दुई वर्ष कैद र रु चार लाख जरिवाना फैसला भएका सिन्धुपाल्चोकको साँगाचोकगढी नपा–९ घर भई काडमाडौँ महानगरपालिका–३२ बस्दै आएका २७ वर्षका फरार रमेश श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेलमा पठाइएको विष्टले जानकारी दिनुभयो ।
त्यसैगरी, प्रहरीले नमोबुद्ध नपा–४ स्थित बिपी राजमार्ग क्षेत्रमा लागुपदार्थ सेवन गर्ने सिराहाको गोलबजार नपा–२ का दुई युवालाई सोमबार पक्राउ गरेको छ । उनीहरूलाई लागुपदार्थ सेवन मुद्दामा १५ दिनको म्याद थपगरी हिरासतमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
























