देश/प्रदेश
पूर्वकुमारीको समूहलाई प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको दर्शन गराइयो

काठमाडौँ, जेठ २५-
आठ जना पूर्वकुमारीलाई चन्द्रागिरि भालेश्वर महादेवको दर्शन तथा अवलोकन गराइएको छ । चन्द्रागिरि नगरपालिकाको समन्वयमा प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको विधि विधानअनुसार पूजा, दर्शन तथा त्यस आसपास क्षेत्रका पर्यटकीयस्थलको आइतबार अवलोकन गराइएको हो ।
त्यसक्रममा कुमारी जात्रा व्यवस्थापन समिति, इन्द्र जात्रा व्यवस्थापन समिति, भैरव जात्रा व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो । भ्रमण अवलोकनका साथै धार्मिक तथा आन्तरिक पर्यटनको विकासका विषयमा छलफलसमेत गरिएको थियो ।
उक्त प्रतिनिधिमण्डललाई चन्द्रागिरि केवलकार स्टेशनमा स्थानीयवासीले स्वागत गरेका थिए । यस वर्षको इन्द्रजात्रामा ऐतिहासिक इन्द्र दहमा लाग्ने मेलामा सहभागिता जनाउन कुमारीहरूलाई निमन्त्रणासमेत गरिएको कुमारी जात्रा व्यवस्थापन समितिका संयोजक गौतम रत्न शाक्यले जानकारी दिनुभयो । यस किसिमको भ्रमणले स्थानीय संस्कृति तथा मूल्यमान्यताको ज्ञान अभिवृद्धि र पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रत्येक वर्ष इन्द्रजात्राका अवसरमा दहमा लाग्ने मेलामा इन्द्रको पूजा गरिन्छ भने वसन्तपुरमा जीवित देवीका रूपमा कुमारीको पूजा तथा गणेश, कुमारी र भैरवको रथ जात्रा गरिन्छ । रासस























