समाचार
आधा सिलिन्डर ग्यासले मासिक ६८ करोड लागत बढ्यो

काठमाडौं, जेठ २४-
पश्चिम एसियामा जारी युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा बिक्रेता मारमा परेका छन्। ग्यास आपूर्तिको अवस्था सामान्य भइसक्दा पनि नेपाल आयल निगममले आधा सिलिन्डर बिक्री गर्ने निर्णय पुनरवलोकन नगर्दा मासिक करिब ६८ करोड रुपैयाँ लागत बढेको छ। अमेरिका–इरान युद्धका कारण ग्यास आयातमा कठिनाइ हुँदा बजारमा अभाव हुन थालेपछि गत फागुन अन्तिम सातादेखि निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो।
अहिले मागका आधारमा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नियमित ग्यास आइरहेको अवस्थामा पनि आयल निगमले आधा सिलिन्डरको व्यवस्था हटाएर १४।२ किलोका पूरा सिलिन्डर बिक्री गर्ने निर्णय नगर्दा करोडौं रुपैयाँको लागत खेर गइरहेको छ।
आधा सिलिन्डर हटाएर भरी सिलिन्डरको व्यवस्था कायम नहुँदा उद्योगीदेखि उपभोक्तासम्मले ठुलो घाटा बेहोर्नुपरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। आधा र भरी सिलिन्डरको ढुवानीदेखि व्यवस्थापकीय खर्च उस्तै भएकाले करोडौं रुपैयाँ लागत बढेको संघका अध्यक्ष दिवान चन्दको भनाइ छ। ग्यास आयातमा कठिनाइ भएको अवस्थाामा आधा सिलिन्डर बिक्री गरेको भए पनि भरी सिलिन्डर बिक्री गर्ने व्यवस्था गर्न ढिलाइ भएको अध्यक्ष चन्दले बताए।
























