खेलकुद

पर्यटन प्रवर्द्धन गर्नको लागी दोस्रो लाङटाङ ट्रेल रन सुरु

Banner

रसुवा, जेठ २३-

रसुवा र नुवाकोटका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रनको दोस्रो संस्करण आयोजना गरिएको छ। रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा सञ्चालन भएको प्रतियोगिताले विशेषगरी क्यान्जिन भ्यालीसहित लाङटाङ क्षेत्रलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

लाङटाङ क्षेत्रको प्रसिद्ध क्यान्जिन गुम्बाबाट सुरु भएको ट्रेल रन स्याफ्रुबेसीसम्म ३२ किलोमिटर दूरीको रहेको छ। समुद्री सतहबाट करिब ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बाबाट सुरु भएको दौडमा स्वदेशी तथा विदेशी गरी एक सय छ जना धावक सहभागी भएका छन्। जसमा १८ जना महिला र ८८ जना पुरुषले दौडमा भाग लिगेका छन ।

बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्यका रूपमा परिचित लाङटाङ क्षेत्र हिमश्रृंखलाको मनोरम दृश्यले भरिपूर्ण छ। क्यान्जिन भ्यालीबाट सुरु गरिएको यो प्रतियोगिताले लाङटाङलाई पदयात्रासँगै ट्रेल रनिङ र म्याराथनका लागि समेत उत्कृष्ट गन्तव्यका रूपमा चिनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ।

संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित प्रतियोगितामा महिला र पुरुषतर्फका उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा पहिलोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

जेठ २३ गते (आज) बिहान बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, योजना तथा आर्थिक मामिला मन्त्री प्रभात तामाङ, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ तथा पर्यटन सचिव दिपेन्द्र सुवेदीको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको थियो। उद्घाटनपश्चात् खेलाडीहरूलाई दौडमा सहभागी गराइएको थियो।

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटनको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको लाङटाङ ट्रेल रन आयोजना गरिएको हो। यस प्रतियोगिताले लाङटाङ क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नुका साथै साहसिक खेल पर्यटनलाई समेत नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>