समाचार

एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पाः खुम्बुको हिउँमा घिस्रिँदै जोगिएको जीवन

Banner

काठमाडौँ ,जेठ २१ –

सगरमाथाको खतरनाक खुम्बु आइसफॉल क्षेत्रमा सात दिनसम्म हराएका ओखलढुंगाका ५७ वर्षीय दावा शेर्पा अन्ततः जीवितै फेला परेका छन्। हिउँको अन्धकार, अक्सिजनको कमी र कठोर चिसोबीच उनले गरेको संघर्षलाई उद्धारकर्ताहरूले “अविश्वसनीय जीवित यात्रा” भनेर वर्णन गरेका छन्।

चैत १३ गते काठमाडौंको रामहिटीबाट ‘हिमालयन ट्राभल्स एडभेन्चर’ कम्पनीमार्फत उनी सगरमाथा क्षेत्रतर्फ गएका थिए। कुकको रूपमा काम गर्ने दावा शेर्पा हिमालतर्फ उक्लिएका थिए।

परिवारका अनुसार उनी क्याम्प १ र क्याम्प २ क्षेत्रमा देखिएका थिए। तर क्याम्प ४ तर्फ जाने क्रममा उनी अचानक सम्पर्कविहीन भए।

दावाकी श्रीमती डमु शेर्पाका अनुसार कम्पनीले सुरुका दिनहरूमा स्पष्ट जानकारी दिन सकेन। कहिले क्याम्प ३, कहिले क्याम्प ४ वरिपरि देखिएको भनियो, तर वास्तविक अवस्था परिवारसम्म स्पष्ट रूपमा पुगेन। तीन दिनभन्दा बढी समयसम्म बेपत्ताको औपचारिक जानकारी नै नदिएको परिवारको आरोप छ।

यसैबीच, हिमालको कठोर भू–भागमा दावाले आफ्नो जीवनका कठिन घडीहरू सामना गरे। घिस्रिँदै उनी क्याम्प ३ सम्म पुगेका थिए, जहाँ उनले केही खानेकुरा भेट्टाएर खाए। त्यसपछि तल झर्ने क्रममा उनी एक खोँचभित्र रातभर आश्रय लिएर बसे।

भोलिपल्ट बिहान खुम्बु आइसफॉल क्षेत्रमा हिमाल सफा गर्ने कार्यमा खटिएको ६ जनाको टोलीले उनलाई फेला पारेको हो। सगरमाथा आधार शिविर नजिकैको क्याम्पोन पोइन्ट क्षेत्रमा उनी हिउँमा घिस्रिरहेको अवस्थामा देखिएका थिए। टोलीले तत्काल उनलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो।

उद्धारपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था अहिले स्थिर छ तर हात र खुट्टामा गम्भीर फ्रस्टबाइट देखिएको छ। संवेदनशीलता फर्काउन तातो पानीसहितको विशेष उपचार जारी छ।

यसैबीच, सगरमाथा आरोहणका क्रममा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने तयारी गरेको छ। घटनाले हिमाली क्षेत्रमा काम गर्ने श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे फेरि प्रश्न उठाएको छ।

तस्बिरःनेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>