राजनीति
एमालेबाट जितेका वडाध्यक्ष रास्वपा र श्रम संस्कृति गए, पद खारेज गर्न सिफारिस

विराटनगर,जेठ १४-
नेकपा एमाले मोरङले पार्टीबाट निर्वाचित भएर अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई जना वडाध्यक्षको पद खारेज गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । एमाले मोरङका जिल्ला सचिव सोमराज थापाका अनुसार, रंगेली नगरपालिका–१ का वडा अध्यक्ष महेश खनाल र लेटाङ नगरपालिका–४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले पार्टी त्याग गरी अन्य दलमा लागेपछि उनीहरूको पद रिक्त गर्न कानूनी प्रक्रिया अगाडि बढाइएको हो।
रंगेली–१ का वडाध्यक्ष खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् भने लेटाङ–४ का वडाध्यक्ष श्रेष्ठ हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् । जिल्ला सचिव थापाले दिएको जानकारी अनुसार, जिल्ला कमिटीको सिफारिसमा अब पार्टीको केन्द्रीय कमिटीले निर्वाचन आयोगलाई पत्राचार गर्नेछ ।
‘निर्वाचन आयोगको प्रक्रिया अनुसार केन्द्रबाटै आधिकारिक पत्र जानुपर्ने हुन्छ’, उनले भने,‘केन्द्रले प्रमाणसहित पत्र पठाएपछि आयोगले सूचना निकाल्नेछ र त्यसको करिब १५ दिनपछि पद रिक्त हुने प्रक्रिया पूरा हुने देखिन्छ ।’
एमाले मोरङको हालै बसेको पदाधिकारी बैठकले पार्टीको अनुशासन उल्लंघन गर्ने र दल परिवर्तन गर्ने जनप्रतिनिधिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउने निर्णय गरेको थियो ।
























