कृषि

किसानलाई नगदेबालीतर्फ आकर्षित गर्दै फाकफोकथुम

Banner

इलाम, जेठ ९ –

जिल्लाको फाकफोकथुम गाउँपालिकाले किसानलाई व्यावसायिक नगदेबालीतर्फ आकर्षित गर्न विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी वितरण गरिरहेको छ । गाउँपालिकाले तीन वर्षअघि अलैँची, कफी, सुन्तला, कागती, खोर्सानी, एभोकाडोलगायत बिरुवाको नर्सरी राखेको थियो । अहिले ती बिरुवा किसानलाई वितरण गर्न थालेको हो ।

फाकफोकथुम-१ स्थित ठिङ्गेपुरमा करिब दुई दशमलव पाँच रोपनी क्षेत्रफलमा चार वटा टनेलमार्फत नर्सरी सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले डिभिजन वन कार्यालयसँगको सहकार्यमा नर्सरी सञ्चालन गरिएको उहाँको भनाइ छ ।

अध्यक्ष खनालका अनुसार हाल नर्सरीमा ३५ हजारभन्दा बढी अलैँचीका बिरुवा, ३० हजार खोर्सानीका र करिब नौ हजार कफीका बिरुवा उत्पादन गरिएको छ । सुन्तला, कागती र एभोकाडोका बिरुवासमेत रोप्न तयार अवस्थामा रहेका जनाउँदै उहाँले यस वर्षदेखि किसानलाई बिरुवा वितरण सुरु गरिएको बताउनुभयो ।

परम्परागत खेती प्रणाली घट्दै गएको र उत्पादनभन्दा लागत बढी हुन थालेपछि किसानलाई नगदेबालीतर्फ प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष खनालले जानकारी दिनुभयो । “आम्दानी गर्ने नाममा विदेश जाने प्रवृत्ति रोकी स्वरोजगार बनाउनुपर्छ भनेर हामीले बिरुवा वितरण कार्यक्रम सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “यसका लागि कफी, अलैँची, एभोकाडोलगायत नगदेबालीमा किसानलाई आकर्षित गरिरहेका छौँ । अबको पाँच वर्षभित्र कफी मुख्य आम्दानीको स्रोत बन्छ भन्ने विश्वास छ ।”

कफीका बिरुवाको माग अत्यधिक रहेको कृषि शाखाका अधिकृत धु्रव श्रेष्ठले बताउनुभयो । “करिब आठ हजार कफीका बिरुवा तयारी अवस्थामा छन् । एघार हजार बिरुवाको माग परेको छ”, उहाँले भन्नुभयो, “अलैँचीका लागि एक लाखभन्दा बढी फाराम परेकामा हाल ३५ हजार बिरुवा मात्र उपलब्ध छन् ।”

गाउँपालिकाले खाडल खन्ने, मल व्यवस्थापन गर्ने तथा व्यावसायिक खेतीको तयारी गरिसकेका किसानलाई प्राथमिकतामा राखेर बिरुवा वितरण गर्ने जनाएको छ । आवश्यकताअनुसार निजी फार्मबाट कफीका बिरुवा खरिद गरेरसमेत किसानलाई उपलब्ध गराइने जनाउँदै अध्यक्ष खनालले अलैँची विकास केन्द्रसँग थप बिरुवाका लागि समन्वय भइरहेको बताउनुभयो ।

‘अलैँची पकेट क्षेत्र’का किसानलाई प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष कल्पना राईले बताउनुभयो । वडा नं ४ फुयाँतप्पामा अलैँची ब्लक कार्यक्रम तथा वडा नं ३ मा सुन्तला–कागती पकेट कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

कृषि विकास अधिकृत श्रेष्ठका अनुसार कोशी प्रदेश सरकारको शसर्त कार्यक्रमअन्तर्गत तीनवटा कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेका छन् । वडा नं ३ आमचोकमा सुन्तला प्रवर्द्धन कार्यक्रमअन्तर्गत रु पाँच लाख बजेटमा ६० रोपनी क्षेत्रफलमा करिब एक हजार ८०० सुन्तला तथा कागतीका बिरुवा रोप्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । “कार्यक्रममा किसानको ५० प्रतिशत लागत सहभागिता रहनेछ । उक्त कार्यक्रम आमचोक कृषि सहकारी संस्थामार्फत सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो ।

त्यसैगरी वडा नं ४ फुयाँतप्पामा धारापानी कृषि सहकारी संस्थामार्फत अलैँची प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको कृषि विकास अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार रु १० लाखको बजेट रहेको उक्त कार्यक्रममा किसानको ५० प्रतिशत सहभागितासहित कुल रु २० लाख बराबरको योजना कार्यान्वयन भइरहेको छ । कार्यक्रमअन्तर्गत ७५ हजार अलैँचीका बिरुवा रोप्ने तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो ।

वडा नं ६ मा तोरी प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालनमा रहेको श्रेष्ठले बताउनुभयो । रु १० लाख बजेट रहेको कार्यक्रममा किसानको ५० प्रतिशत लागत सहभागिता रहनेछ । आरती कृषि सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कार्यक्रममा तोरी प्रशोधन मिल स्थापना गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>