देश/प्रदेश
बड्डीचौर-खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती

कर्णाली, जेठ ८ –
सुर्खेत पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर-बिउरेनी-खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती हुँदै आएको छ । करिब चार वर्षसम्म सडक नबन्दा पश्चिम सुर्खेतका तीन पालिकाका ७५ हजारभन्दा बढी नागरिकले सास्तीपूर्ण यात्रा गर्दै आएका छन् ।
उक्त सडक निर्माणको जिम्मा लिएको अनकरजयदेवी जेभी निर्माण सेवाले चार वर्ष लाग्दासमेत निर्माणमा ढिलाइ गरेपछि नागरिकले हिउँदमा धुलो र वर्षामा हिलोमा हिँड्नुपर्ने बाध्यता छ । निर्माण कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी सम्झौताका साथ बड्डीचौर-बीउरेनी-खम्बागाडे १३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो ।
“भ्याटसहित रु ४२ करोड लागत रहेको सडकमा अहिलेसम्म भौति प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३२ दशमलव दुई प्रतिशत छ”, निर्देशक शाहीले भन्नुभयो, “तोकिएको समयमा निर्माण हुन नसक्दा यहाँका तीन पालिकाका नागरिक निर्देशनालयमा पुगेर गुनासो पोख्दै आएका छन् ।” सम्बन्धित निर्माण व्यवसायीको लापरवाहीका कारण यहाँका नागरिकको आवागमनमा जटिलता पैदा भएको उहाँको भनाइ छ ।
निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न नगर्दा एकपटक म्याद थपिएको तर थपेको म्यादभित्र काम नसकेपछि अहिले सबै सरोकार भएकालाई अलपत्र सडकमा स्थलगत अवलोकन गराएर काम गर्न दबाब दिइएको निर्देशक शाहीले बताउनुभयो । उहाँका अनुसार सुरुमा भोगाधिकार स्वीकृति, रुख कटान, विद्युत् लाइन व्यवस्थापन, सङ्घीय सरकारबाट हुने निर्णय प्रक्रियालगायत प्रशासनिक तथा प्राविधिक ढिलाइका कारण आयोजना प्रभावित भए पनि पछिल्लो समय सो कम्पनीले काममा गति दिन नसकेको हो ।
आगामी आव २०८३/८४ को चैत मसान्तसम्म काम सम्पन्न गर्नेगरी म्याद थप्ने तयारी भइरहेको बताउँदै निर्देशक शाहीले उक्त तोकिएको समयमा काम सम्पन्न नगरे कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिनुभयो । निर्माणाधीनस्थलमा अब कुनै अवरोध नभएकाले नागरिकका समस्यालाई ध्यान दिएर कुनै आलटाल नगरी बेलैमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई उहाँले निर्देशन दिनुभयो ।
अनक/जयदेवी जेभी निर्माण सेवाका आधिकारिक प्रतिनिधि शङ्कर रावतले सुरुमा रुख कटान, भोगाधिकार, विद्युत् लाइन व्यवस्थापनलगायतका जटिलताले काम रोकिए पनि अब त्यसमा सहजता भइसकेकाले काम नरोकिने बताउनुभयो । मध्यपूर्व एसियाको द्वन्द्वले इन्धन महँगो र पाउन गाह्रो भएकाले पछिल्लो समयमा सरकारले यसमा ध्यान पुर्याएर व्यवसायीका मर्का बुझिदिन उहाँले अनुरोध गर्नुभयो ।
यो जेठ मसान्तभित्र सवारीसाधन र मानिस दुवै सहज आवतजावत हुने गरी सडक निर्माण गरिने र आउने मनसुनले अवरोध नपुर्याउने प्रतिनिधि राउतले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले दैनिक दुई हजार लिटर तेल खर्च हुने अवस्थामा अहिलेमात्र ६०० लिटर पाइने भएकाले उपकरण सञ्चालनका लागि तेल उपलब्ध गर्ने विषयमा स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारलाई सहजीकरणका लागि आग्रह गर्नुभयो ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विश्वकर्माले निर्माण व्यवसायीका कारण सुर्खेत पश्चिमका जनताले ठूलो क्षति भोग्नुपरेको रोष प्रकट गर्दै बेलैमा काम नसके जनधन दुवैको क्षति व्यवसायीले तिर्नुपर्ने चेतावनी दिनुभयो । पञ्चपुरी नगरपालिकाका प्रमखु लालबहादुर भण्डारीले अहिले काममा कुनै अवरोध नभएकाले कामलाई निरन्तरता दिने विषयमा बाहना नगर्न सुझाउनुभयो ।
बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले चार वर्षसम्म पनि १३ किलोमिटर सडक बनाउन नसक्दा त्यसको दोष स्थानीय जनप्रतिनिधिले खेप्नुपरेको बताउनुभयो । सडक निर्माणजस्तो महत्त्वपूर्ण कामलाई निर्माण व्यवसायीको चरम लापरवाहीले अन्योलमा हुँदा यहाँका जनता हिलो र धुलोबाट पोतिनुपरेको उहाँले गुनासो पोख्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले प्रदेश सरकार, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूसँग बसेर गरेको निर्णयले सडक निर्माणका सबै अवरोध हटाउँदा पनि काम गर्न नसक्नु निर्माण कम्पनीको कमजोरी रहेको बताउनुभयो । निर्माण व्यवसायीले अब बाहना गर्ने कुनै ठाउँ नभएको भन्दै उहाँले कम्पनीको उपकरण सञ्चालनका लागि आवश्यक इन्धन उपलब्ध गराउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
























