देश/प्रदेश
‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र

ढोरपाटन (बागलुङ), जेठ २-
काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । काठेखोला गाउँपालिका–२ स्थित अछेतेदेखि तङ्ग्राम जोड्ने छ किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु दुई करोड ८९ लाख ८४ हजार लागतमा सडक कालोपत्र गर्न थालिएको पूर्वधार विकास कार्यालयका इन्जिनियर अनिल बर्देवाले जानकारी दिनुभयो । बहुवर्षे योजनाअन्तर्गत राखेर सडक स्तरोन्नतिको काम अगाडि बढाइएको र यस वर्ष करिब दुई किलोमिटर सडक कालोपत्र हुने उहाँले जानकारी दिनुभयो ।
गत वर्ष असार मा आरएस हिल जेभीसँग आगामी असार १५ गतेभित्र सडक स्तरोन्नतिसहित कालोपत्रको ढेक्का सम्झौता भएको इन्जिनियर बर्देवाले बताउनुभयो । हाल सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
इन्जिनियर बर्देवाले भन्नुभयो, “निर्माण कम्पनीले हाल धमाधम काम गरिरहेको छ, हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ, यस पटक सीमित बजेट विनियोजन भएको हुँदा एक किलोमिटर सात सय मिटरमध्ये ८०० मिटरमा प्रि–मिक्स प्रविधिको कालोपत्र गरिनेछ ।”
सडक खुलेको २८ वर्षसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा दुलोले आजित बनाएकामा अब केही राहत मिल्ने भन्दै स्थानीय प्रेम थापाले खुसी व्यक्त गर्नुभयो । सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा तथा सामान ढुवानी गर्नसमेत समस्या हुने गरेकामा अब सहज हुने उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष राजु थापाले सडक स्तरोन्नति नहुँदा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको अवस्था अन्त्यका लागि प्रदेश सरकारसँगको सहकार्यमा सडक कालोपत्र गर्न थालेको बताउनुभयो । सडकले काठेखोलाका वडा नं ३, ४ र २ का नागरिकलाई जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडेको छ ।
“गाउँपालिकाको बजेट सीमित भएकाले यस्ता महत्त्वपूर्ण सडक पनि कालोपत्र गर्न सकिएको छैन । प्रदेश सरकारसँग धेरै पटक माग गरेपछि बजेट परेको हो, हाल केही खण्डमा कालोपत्र सुरु भएको छ । आगामी वर्षसम्म सडक कालोपत्रले पूर्णता पाउनेछ”, अध्यक्ष थापाले भन्नुभयो । रासस






















