नवलपुर
एसईईमा गैँडाकोट इङ्लिस स्कुल जिल्लाकै प्रथम, ४ जीपीए ल्याउने छात्रा तेजस्वी पन्त सम्मानित

गैँडाकोट, जेठ २-
नवलपुरको गैँडाकोट इङ्लिस स्कुल यस वर्षको एसईई परीक्षामा जिल्लाकै प्रथम हुन सफल भएको छ । विद्यालयले ९८.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उत्कृष्ट नतिजा हासिल गरेको हो ।
यस वर्ष एसईई परीक्षामा सहभागी ६० जना विद्यार्थीमध्ये एक जना विद्यार्थी मात्रै ननग्रेडमा परेका छन् । ‘क’ वर्गमा रहेको विद्यालयले गत वर्ष पनि ९८.०८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्ला दोस्रो स्थान हासिल गरेको थियो । उत्कृष्ट नतिजापछि विद्यालयले शुक्रबार बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो भने ४ जीपीए हासिल गरेकी छात्रा तेजस्वी पन्त लाई विद्यालयले पूर्वघोषणाअनुसार १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । विद्यालयका अनुसार पन्तले मेहनत, लगनशीलता र आत्मविश्वासका बलमा उक्त सफलता हासिल गरेकी हुन् । विद्यालयका प्राचार्य हिरालाल अर्याल, गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य लगायतले छात्रा पन्तलाई सम्मान तथा बधाई ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्राचार्य अर्यालले विद्यालयले शैक्षिक नतिजासँगै अनुशासन, संस्कार र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले विद्यार्थीहरूको सफलता विद्यालय, अभिभावक र शिक्षकहरूको साझा मेहनतको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगर शिक्षा अधिकारी आचार्यले विद्यार्थीहरू केवल पढाइमा मात्रै अब्बल भएर नपुग्ने भन्दै नैतिकवान, जिम्मेवार र अनुशासित नागरिक बन्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले असल चरित्र, सकारात्मक सोच र सामाजिक उत्तरदायित्व बोकेका विद्यार्थी उत्पादन गर्नु नै शिक्षाको मुख्य उद्देश्य भएको बताउनुभयो ।
कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालय प्रशासनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
सोही कार्यक्रममा ज्ञानकुञ्ज स्कुल बाट एसईई उत्तीर्ण विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । पछिल्लो समय ज्ञानकुञ्ज स्कुल पनि गैँडाकोट इङ्लिस स्कुलकै व्यवस्थापनमा सञ्चालन हुँदै आएको विद्यालयले जनाएको छ ।

























