समाचार
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम

काठमाडौं, वैशाख २८-
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालीहरू विदेश जाँदा एक खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको नौ महिनाको विवरणअनुसार २०८२ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा उक्त रकम देशबाट बाहिरिएको हो ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विदेश पढ्न जाने विद्यार्थीले मात्र एक खर्ब १२ अर्ब ८४ करोड रुपैयाँ साथमा लगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०८१ /८२ को पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यसरी देशबाट बाहिरिने रकम २।६ प्रतिशतले कमी आएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१र८२ को पहिलो नौ महिनामा नेपालीहरू विदेश जाँदा एक खर्ब ६९ अर्ब ८४ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो, जसमध्ये विद्यार्थीले मात्र एक खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ लगेका थिए । राष्ट्र बैंकको विवरणअनुसार नेपाल घुम्न आउने पर्यटकले नेपालमा गर्ने खर्च पनि अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३.८ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपाल घुम्न आउने पर्यटकले ६४ अर्ब १० करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ६६ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।


























