राजनीति
सुर्खेतमा कांग्रेसको प्रदेशस्तरीय भेला, गगन थापाले उद्घाटन गर्दै

सुर्खेत, वैशाख २८-
नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका छन् । नियमित उडानबाट सुर्खेत आएका उनले केहीबेरपछि भेलाको उद्घाटन गर्नेछन् ।
भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा धनगढीबाट गाडीमा सुर्खेत आउँदैछन् भने महामन्त्री प्रदिप पौडेल बिहानै सुर्खेत पुगिसकेका छन् ।
थापालाई स्वागत गर्न कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता जीवनबहादुर शाही, नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, ऊर्जा तथा सिँचाईमन्त्री विजया बुढा, नेपाली काँग्रेसका कर्णालीबाट केन्द्रीय सदस्यहरु, पार्टीका प्रदेश समितिका पदाधिकारीहरु सुर्खेत विमानस्थल पुगेका थिए ।
काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पुर्ण खड्काको गृह जिल्लामा हुन लागेको कार्यक्रमलाई चासोको साथ हेरिएको छ । विशेष महाधिवेशनपछि कांग्रेसले पहिलो पटक प्रदेशस्तरीय भेला गर्न लागेको हो ।
दुई दिनसम्म चल्ने भेलामा नेपाली काँग्रेसका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका पार्टी सभापतिहरु सहभागी हुनेछन् ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो । पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ ।
भेलामा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यमा केन्द्रित हुने बताए । भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत छलफल हुनेछ।
बदलिँदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन शुद्धीकरण तथा जनप्रतिनिधि र नेतृत्वबीच साझा धारणा निर्माणमा पनि विशेष जोड दिइनेछ । त्यसैगरी सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्ययोजना तय गरिने बताइएको छ।



































