देश/प्रदेश

सिक्दै, कमाउँदै मङ्गला माविका विद्यार्थी

Banner

म्याग्दी, वैशाख २६-

म्याग्दीको बाबियाचौरमा रहेको मङ्गला माध्यमिक विद्यालयका विद्यार्थीहरूले हाँसिल गरेको प्राविधिक शिक्षालाई व्यवहारिक रूपमा प्रयोग गरेर व्यावसायिक रूपमा तरकारीखेती गरी आम्दानी गर्न थालेका छन् ।

मङ्गला गाउँपालिका–२ स्थित उक्त विद्यालयको प्राबिधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरूले जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् । विद्यालयको कृषि प्राविधिकका संयोजक करन कँडेलले विद्यार्थीहरूले प्रयोगात्मक अभ्यासका लागि गरेको तरकारीखेतीबाट आम्दानी पनि गर्न थालेका जानकारी दिनुभयो ।

“कक्षा कोठामा विद्यार्थीले हासिल गर्ने सैद्धान्तिक ज्ञानलाई दिगो र व्यवहारिक बनाउन प्रयोगात्मक अभ्यासका लागि दुई रोपनी जग्गामा मौसम अनुसारका तरकारी खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीले उत्पादन गरेको तरकारी विद्यालयकै चमेनागृह, छात्रावास, विद्यार्थीको घरायसी उपभोगका साथै बाबियाचौर बजारमा बिक्री गर्दै आएका छन् ।”

हिजोआज जिरीको साग बेचिरहेका विद्यार्थीहरूले जुकेनी फर्सी, गोलभँेडा, तितेकरोला र खुर्सानीको पनि खेती गरेका छन् । ताजा तरकारीका साथै यामअनुसार नर्सरीमा बिरुवा उत्पादन गरेर बेच्ने पनि गरेका छन् । एक सिजनमा रु ५० हजार सम्मको तरकारी उत्पादन गर्छन् ।

कक्षा ९ का विद्यार्थी देविना पुनले सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास गर्दा पढेको विषयवस्तुलाई बुझ्न सजिलो भएको बताउनुभयो । बागलुङबाट कृषि विषय अध्ययनका लागि मङ्गला माविमा आएकी प्रतिज्ञा बिकले प्राविधिक शिक्षाका साथै उत्पादनलाई बजारीकरण र व्यावसायिक गर्ने ज्ञान र सीप हासिल गर्न पाउँदा भविष्यमा स्वरोजगार र आत्मनिर्भर बन्न सकिने आत्मबल बढेको बताउनुभयो ।

अर्का विद्यार्थी नविन सुनारले पढाइसँगै आयआर्जन गर्ने र व्यावसायिक बन्ने व्यवहारिक ज्ञान, सीप हासिल गर्न पाएको अनुभव सुनाउनुभयो । यस विद्यालयमा विसं २०७६ देखि प्राविधिक धारतर्फ कृषि विषयमा पठनपाठन सुरु भएको थियो । कक्षा ९ देखि १२ सम्म कृषि विषयको पठनपाठन हुने गरेको छ ।

हालसम्म ५० जनाभन्दा बढीले कक्षा १२ उत्तीर्ण गरेका र हाल ५२ जना विद्यार्थी कृषि प्राविधिक विषय अध्ययन गरिरहेका प्रधानाध्यापक गमबहादुर खत्रीले बताउनुभयो । बाबियाचौरका साथै अर्मन, कुहुँ, बरङ्जा र बेनी नगरपालिकाबाट कृषि विषय पढ्नका लागि विद्यार्थीहरू आएका उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>